close

‘ कस्तो छ आमा ?’

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीको दरबार गाउँपालिकाले ‘कस्तो छ आमा ?’ कार्यक्रम सुरु गरेको छ । सुरक्षित मातृत्व, नवशिशु तथा बाल स्वास्थ्य सेवा, खोप, पोषण, परिवार नियोजन, स्वास्थ्य र सरसफाइलाई केन्द्रमा राखेर यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममार्फत गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थाका आमाहरुलाई आवश्यक स्वास्थ्य सुविधा र पोषण सेवा प्रवाह गर्ने उद्देश्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।


त्यस्तै, गर्भको नवशिशु तथा दुई वर्षमुनिका बच्चालाई आवश्यक स्वास्थ्य सेवा र पोषण सेवा प्रवाह गर्ने, आमा  गर्भ र बच्चाको रुग्णता दर कम गर्ने, मातृमृत्यु दरका साथै शिशु मृत्यु हुनबाट जोगाउने उद्देश्यले रचनात्मक काम सुरु  गरिएको पाण्डेयले बताए ।  यो कार्यक्रम सञ्चालनपूर्व स्वास्थ्य संस्थाका प्रमुखहरु, वडाध्यक्षहरु, आमा सुरक्षा कार्यक्रमका फोकल पर्सनहरु, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । 


अब प्रत्येक स्वास्थ्य संस्थाका लागि एक/एक थान मोबाइल र सिमकार्ड उपलब्ध गराइनेछ । यो सेवा गर्भवतीहरुसँग स्वास्थ्यकर्मीको निरन्तर संवादको निम्ति उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले जानकारी दिए ।  टोलमा कुनै पनि महिला गर्भवती भएको थाहा हुनेबित्तिकै महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थाको फोकल पर्सनलाई फोन गर्नुपर्नेछ । त्यसपछि फोकल पर्सनले गर्भवती महिलालाई निरन्तर फलोअप गर्ने कार्ययोजना रहेको स्वास्थ्य अधिकृत अर्यालले बताए ।


अर्यालका अनुसार गर्भवती भएको खबर पाउनेबित्तिकै जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मी उनको घरमै पुगेर बधाइ दिनेछन् । सँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाहसहित गर्भवतीलाइ सन्देशमूलक ऐना, बाबुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्य योजना बनाइएको छ ।


उनले गर्भवतीको घरबाट फर्किने बेला गर्भवतीलाई छिट्टै टिडी खोप लगाउने र चौथो महिनामा गर्भजाँचका लागि आउने सल्लाह दिइने बताए । त्यसपछि हरेक महिना फोकल पर्सनले गर्भवतीलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझेर आवश्यक सल्लाह दिइनेछ । 


गाउँपालिकाका जनप्रतिनिधि, स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोलीले चौथो, छैठौं, आठौं र नवौं महिनामा गर्भ जाँच गराएपछि गर्भवतीलाई ३० वटा अन्डा, आयोडिन नुनको पोका, नुहाउने र धुने साबुन, नङकट, आइरन र क्याल्सियमसहितको गाउँपालिकाको कोसेली प्रदान गर्ने गाउँपालिकामा कार्यरत अहेव विष्णु सूर्यवंशीले जानकारी दिए । त्यस्तै, सुत्केरी भएको तेस्रो दिनमा पनि यो कार्यक्रममार्फत कोसेली प्रदान गर्ने योजना छ । त्यस्तै, पाँचौं, सातौं महिनामा फोकल पर्सनले फोन गरी स्वास्थ्य अवस्था बुझ्ने र महिला स्वास्थ्य स्वयंसेविकाले आइरन र क्यालसियम उपलब्ध गराउने कार्ययोजना छ ।


प्रसूति व्यथा लाग्नेबित्तिकै फोकल पर्सनलाई फोन गर्ने, स्वास्थ्य संस्थामा लिएर आउने, २४ घन्टाभित्रै सुरक्षित  प्रसूति सेवा गर्नुपर्ने, सुत्केरी तथा नवशिशु जाँच गरेर आमा र बच्चालाई न्यानो झोला तथा नगद २८ सय रुपैयाँ प्रदान गरिने सूर्यवंशीले बताए । ‘सुरक्षित प्रसूतिपछि स्तनपान, खोप र तौललाई यो कार्यक्रमले विशेष जोड दिएको छ । बच्चा ६ महिना पुग्नेबित्तिकै दुई वर्षसम्म १८ पटक तौल लिँदा पनि प्रतिपटक २ वटा अन्डा दिने गरेका छौ’,। सूर्यवंशीले भने । 

 

कार्यक्रममा फोकल पर्सनले आमालाई गर्भवती भएदेखि बच्चा दुई वर्षको हुने बेलासम्म कम्तीमा ३० पटक फोन गर्ने कार्यतालिका बनाइएको छ । गाउँपालिका प्रमुख अशोककुमार थापा जनतालाई  आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिएको बताउँछन् ।


‘विगत वर्षमा पनि स्वास्थ्य क्षेत्रमा थुप्रै उल्लेख्य काम भएका छन् । मातृशिशु र गर्भवती महिलालाई पालिकाभित्रै सुरक्षित तवरले सुत्केरी गराउन यो कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास छ’, थापाले भने ।