close

ऐँसेलुखर्कका तीन विद्यालयमा ई-लाइब्रेरी सेवा

ऐँसेलुखर्कका तीन विद्यालयमा ई-लाइब्रेरी सेवा

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका ३ वटा माविमा ई-लाइब्रेरी सेवा सुरु भएको छ । विद्यालयमा जुनसुकै विषयको पुस्तक अध्ययनको वातावरण निर्माणका लागि गाउँपालिकाले एकैसाथ त्रिभुवन मावि ऐँसेलुखर्क, सिम्ले मावि जलेश्वरी र शिशु मावि महेश्वरीमा ई-लाइब्रेरी सेवा सुरु गरेको हो ।

 

विद्यालयमा पठन संस्कृतिको विकासका लागि माविमा ७ हजारभन्दा बढी पुस्तक, ३ हजारभन्दा बढी श्रव्य र १ हजार ५ सयभन्दा बढी श्रव्यदृश्य सामग्रीसहितको ई-लाइब्रेरी जडान गरिएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 


गाउँपालिका अध्यक्ष निरौला, शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठ, सूचना प्रविधि अधिकृत सिजन राईको सहभागितामा मंगलबार ३ विद्यालयमा ई-लाइब्रेरी जडान गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरियो ।

 

आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट प्रतिमाविमा ६५ हजार रुपैयाँको खर्चमा सर्भर, राउटरलगायत उपकरण जडान गरेर ई-लाइब्रेरी व्यवस्था गरिएको हो । गाउँपालिकाभित्र सञ्चालित ८ मध्ये बाँकी ५ वटा माविमा पनि क्रमशः ई-लाइब्रेरी जडान गरिने अध्यक्ष निरौलाले बताए ।

 

सबै माविमा ई-लाइब्रेरी जडानका लागि सामग्री ल्याइसकिएको छ । इन्टरनेट नभएको अवस्थामा समेत प्रयोग गर्न सकिने ई-लाइब्रेरीले विद्यालयको शिक्षण सिकाइमा उत्साह जगाएको विद्यालयले जनाएको छ । 

 

विद्यालयमा ई-लाइब्रेरीको व्यवस्था भएपछि शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले त्यहाँ गएर स्वअध्ययन गर्न सक्ने अध्यक्ष निरौलाको भनाइ छ । ई-लाइब्रेरीमा भएका पुस्तक, श्रव्य र श्रव्यदृश्य सामग्री शिक्षक तथा विद्यार्थीबाहेक अभिभावकले समेत अध्ययन गर्न सक्नेछन् ।

 

‘ई-लाइब्रेरीमा शिशु कक्षादेखि उच्च तहका पाठ्यपुस्तकको व्यवस्था छ । त्यहाँ गएर हेर्नेदेखि सुनेर पनि अध्ययन गर्न सकिन्छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘विशेषगरी विद्यार्थी, शिक्षक र स्थानीय समुदायलाई उपयोगी हुने विषय अध्ययन गर्न सकिन्छ । यसले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरेका छौँ ।’