close

१५ वर्षमा पनि नबनेकाे एउटा पुल 

कर्णाली राजमार्गका बेलीब्रिजका कथा

१५ वर्षमा पनि नबनेकाे एउटा पुल 

कर्णाली राजमार्गका बेलीब्रिजका कथा

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली राजमार्गको कालीकोट खण्डमा रहेको सेरीघाट र जुम्ला-कालीकोटको सीमा हिमा नदीमाथिको बेलीब्रिज जीर्ण हुँदा कर्णालीबासीको यात्रा जोखिमपूर्ण हुन थालेको छ ।

 

नेपालगञ्ज र सुर्खेतदेखि जुम्ला, मुगु एवं जुम्ला, मगु, कालीकोटदेखि सुर्खेत-नेपालगञ्ज जाने यात्रुको यात्रा जोखिमपूर्ण हुन थालेको हो । साना तथा ठूला सवारीसाधन आउजाउ गर्दा पुल हल्लिने गरेको छ । 


करिब डेढ दशक पहिले मान्मको फेद सेरीघाटमा निर्माण गरिएको सो बेलीब्रिजमा क्षमताभन्दा ठूला सवारी साधन गुड्ने गरेकै कारण पुल जीर्ण भएको स्थानीय बताउँछन् । पुलभरि माटो भरिएर खिया लागिसकेको छ । 

 

कुनै पनि बेला दुर्घटना हुन सक्ने खतरा बढेको जुम्लाकी दुर्गा रावलले बताइन् । उनले भनिन्, ‘कर्णालीको सडक साँघुरो छ । त्यसैमा यो पुलको अवस्था नाजुक छ ।’


२०६२ बाट कर्णाली राजमार्गमा गाडी गुड्न थालेका हुन् । पुलको क्षमताभन्दा तेब्बर बढी तौलका ठूला सवारीसाधन गुडेपछि कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बनेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । 

 

उनले भने, ‘एक त कर्णाली राजमार्ग इन्जिनिरिङ मापदण्डमा छैन । बेलीब्रिजको सट्टामा त्यतिबेलै पक्की पुल निर्माण गर्नुपथ्र्यो । त्यो हुन सकेन । बेलिब्रिज पुलमा यात्रुवाहक सवारीबाहेक ठूला मालवाहक सवारी चलाउँदा जोखिम बढ्छ ।’

 

बेलीब्रिज जीर्ण बन्दै गएपछि सेरीघाट नजिकै सडक डिभिजन सुर्खेतको मातहतमा पक्की पुल निर्माण अघि बढेको छ । दुवैतर्फका स्ल्याब खडा भएका छन् । बेलीब्रिज जीर्ण बन्दै जाँदा पक्की पुल निर्माण अघि बढेको छ । चालू आर्थिक वर्षभित्रै पक्की पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । 


दैखोलादेखि माथि जुम्लाको कार्यक्षेत्र भए पनि सेरीघाट पक्की पुल निर्माण सुर्खेतले जिम्मेवारी लिएको हो । बेलीब्रिज नजिकै बन्न लागेको पक्की पुल निर्माण बिनारोकटोक अघि बढाउन कर्णालीबासीले आग्रह गरेका छन् । पुल निर्माणसँगै कर्णाली राजमार्गको स्तरोन्नति अघि बढाउन कर्णालीबासीको माग छ । 

 

कर्णाली राजमार्गअन्तर्गतको जुम्ला सडक खण्डमा निकै सुधार भएको छ । खाल्डाखुल्डी पुर्नेदेखि कालोपत्रेसमेत गरिएको छ । केही अप्ठेरा ठाउँमा सुधार कार्य अघि बढेका छ । तर, केही ठाउँमा धुलो र हिलोले गर्दा सडकमा यात्रा असहज भइरहेको छ । 


कर्णाली राजमार्गको दैखोलादेखि पूर्व कालीकोट हुँदै जुम्ला सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले भने, ‘आफ्नो कार्यक्षेत्रको सडक खण्डलाई सहज सुरक्षित र स्तरीय बनाउन लागिपरेका छौँ । अझै केही ठाउँमा सुधारको काम बाँकी छ । त्यो पनि सकाउँछौँ । कर्णाली राजमार्गलाई कम जोखिमयुक्त सडक बनाउने कसरत गरिरहेका छौँ ।’

 

कर्णाली राजमार्गमा मृत्यु मार्ग होइन । थोरै भए पनि सुरक्षित मार्गका रुपमा स्थापित गर्न खोजेको सडक प्रमुख भण्डारीले बताए । कर्णाली राजमार्गअन्तर्गर्तकै टाकुल्ला खोला र त्रिवेणी पक्की पुल निर्माण चालू आर्थिक वर्षमै अघि बढाउने तयारी भइरहेको भण्डारीको भनाइ छ । 

 

वर्षौंदेखि अलपत्र परेका दुवै पुलको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरी पुल निर्माणलाई निरन्तरता दिन फाइल सदर गर्न संघीय मन्त्रालयमा दौडधुप गरिरहेको भण्डारीले जानकारी दिए । 


पर्याप्त बजेट नभएकै कारण कर्णाली राजमार्गको लक्ष्यअनुसार उपलब्धि नभएको समेत भण्डारीले उल्लेख गरे । संघ र प्रदेशबाटै आवश्यकतामा आधारित बजेट नआउँदा समस्या हुने गरेको छ । जुम्ला खण्डको सडक सुधारप्रति स्थानीय खुसी छन् ।

 

कर्णाली राजमार्गसँग जोडिएर स्थानीय सडक निर्माण हुुन थालेपछि राजमार्ग झन् असुरक्षित बनेको छ । कर्णाली राजमार्ग निर्माणका लागि स्थानीय र प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन थालेपछि संघीय सरकारको भरमा अघि बढेको छ । 

 

साँघुरो सडक, जीर्ण पुलका कारण जुम्लादेखि सुर्खेतसम्मको २ सय ३६ किलोमिटर सडक असुरक्षित मानिने गरेको छ । यो राजमार्ग हुँदै मुगुको राराताल जाने आन्तरिक तथा बाह्य पर्यटक आउजाउ गर्छन् । त्रासैत्रासमा कर्णाली सडकमा यात्रा गर्नुपरेको पर्यटक बताउँछन् ।