close

नेपाल बन्दको प्रचण्ड–नेपालद्वारा नै अवज्ञा !

नेपाल बन्दको प्रचण्ड–नेपालद्वारा नै अवज्ञा !

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रतिनिधिसभा विघटन र संवैधानिक नियुक्तिको विरोधमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल खेमाले आयोजना गरेको आम हड्ताल देशभर जारी छ ।

 

तर हड्तालको आह्वान गरेको पार्टीका अध्यक्षद्धय प्रचण्ड र नेपालले नै बन्दको अवज्ञा गरेका छन् ।

 

कार्यकर्तालाई सवारी साधन नचलाउन, चलाउन नदिन र उद्योग–व्यापार ठप्प पार्न निर्देशन दिएका नेताहरु नै बन्दमा गाडी र स्कुटरमा हिँडिरहेका छन् ।

 

ललितपुरको सातदोवाटोमा बन्दकर्तासँगै केही क्षण बसेर चिउरा खाएका अध्यक्ष प्रचण्ड सुरक्षा दस्तासहित बा१७च ३०७१ नम्बरको पजेरो लिएर उपत्यका घुमिरहेका छन् ।

 

अर्का अध्यक्ष माधव नेपाल पनि स्कुटरमा चढेर बन्द गराउदै हिडेका छन् । नेताहरु गाडीमा हिडेपनि कार्यकर्ताले भने बिहानै एउटा भाडाको ट्याक्सी जलाइदिएका छन् ।

 

दैनिक साहुलाई भाडा बुझाएर गुजारा चलाउँदै आएका चालकको गुनासो भने यस्तो छः


आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगेँ । त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन् । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी आन्दोलनकारी हौं भने ।

 

दाहिनेतिरबाट एउटाले पेट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई कोरेर फाल्यो । म आत्तिएर केही सोच्नै सकिनँ । गाडीमा आगो हुरहुरी बलिसक्यो म सिटबेल्ट लगाएर बसेको थिएँ ।

 

अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जल्थेँ ।


म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन ।

 

देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ?