close

जन्मथलोमा सडक बुन्दै सिभिल इन्जियनियर

जन्मथलोमा सडक बुन्दै सिभिल इन्जियनियर

Trulli
ADVERTISEMENT

उदयपुर- सबै मिलेर काम गरे समृद्धि टाढा छैनन् भन्ने उदाहरण उदयपुरका एक युवा इन्जिनियरले देखाइदिएका छन् । सदरमुकाम गाईघाटदेखि नजिकै भए पनि दुगर्म बस्तीमा जन्मेका त्रियुगा नगरपालिका वडा नम्बर १६ बेलदोभानका सिभिल इन्जिनियर दीपक राना मगर गाउँ बनाउने अभियानमा जुटेका हुन् ।


मगरले आफ्नै खर्चमा गाउँमा सडक निर्माण र मिल स्थापना गरेका छन् । धेरैजसो युवाहरूले आफू र देश बिग्रनुमा राजनीतिक दल र तिनका नेतृत्वलाई दोषी दिने गरेका छन् । तर, उनीहरूले राजनीतिक दललाई च्याप्दा देश बिग्रिएको इन्जिनियर रानाको अनुभव छ ।

 

सबै पक्ष सचेत भएर युवा पिँढीलाई सही दिसा दिने हो भने समृद्धि टाढा छैन भन्ने देखाउन सकिने उनको भनाइ छ । गाउँका युवालाई पनि सामाजिक सेवामा निःस्वार्थ लाग्न प्रेरणा दिने उद्देश्यले गाउँ सुधार अभियानमा जुटेको मगर बताउँछन् । 

 

त्यसका लागि उनले पहिलो चरणमा आफ्नै वडाभित्र रहेको पर्यटकीय स्थल बेलदोभान झर्ना, बागनंग्री गुफा र बेलदोभान वनभोज स्थलसम्म सडक पुर्‍याउन लागिपरेका छन् । उनको समूहले केही दिनअघि मात्र पर्यटकीय स्थल पुग्ने कच्ची सडकको सरसफाइ र स्तरोन्नति गरेको छ ।

 

इन्जिनियर मगरले व्यक्तिगत करिब ३ लाख रुपैयाँको लगानीमा करिब ५ किलोमिटर सडक बाटो स्तरोन्नति गरेको गाउँलेले बताए ।

 

बर्खाले धुलिसात् पारेको त्रियुगा नगरपालिका वडा नम्बर १६ को फोक्सिङटारदेखि जाल्पा-बेल्दोभान-झर्ना जोड्ने सडक सरसफाइ गर्दै मर्मत र स्तरोन्नतिका लागि उनले आफ्नै पैसा खर्च गरेका हुन् ।

 

‘बर्खाले सो खण्डको विभिन्न ठाउँमा पहिरो जानुका साथै भत्काएर मोटरसाइकलसम्म हिँड्न नसक्ने भएकाले मर्मतका लागि आफ्नै रकम खर्च गरेको हुँ’, इन्जिनियर मगरले भने ।

 

बेलदोभान झर्नासम्म आउजाउ गर्ने मुख्य सडक उनको लगानीमा मर्मत भएपछि अहिले जिप, कार, मोटरसाइकल चलाउन सहज भएको जाल्पाका सामाजिक अभियन्ता रुद्र पोखरेलले बताए ।

 

पोखरेलका अनुसार सडक मर्मतभएपछि बेलदोभान झर्नामा दिनहुँजसो आन्तरिक पर्यटक आउन थालेका छन् । वनभोज खान, घुमफिर गर्न र झर्ना हेर्न आउनेको भीड लाग्न थालेको पोखरेलले बताए । 

 

एसियन पेन्ट्स हेटौंडाका सिभिल इन्जिनियर मगरले बेलदोभान झर्नामा स्थानीय र बाह्य दुवै खाले पर्यटकलाई आउजाउ गर्न असहज भएको पाएपछि आफ्नै लगानीमा सडक मर्मत गरेको बताए ।


बिदामा घर आउँदा गाउँमा आवश्यक सबै खाले सहयोग छिमेकी र गाउँलेलाई गर्दै आएका उनले यस पटक स्थानीय युवालाई परिचालन गर्दै सडक सुधार गरेका हुन् । 


इन्जिनियर मगरले स्थानीय केशव मगरसँगको सहकार्यमा गाउँमा अन्न कुटानी पिसानी गर्न कम्वाइन्ड मिलसमेत स्थापना गरेका छन् । मिल स्थापनापछि त्यहाँका ३५ घरपरिवार लाभान्वित भएका छन् ।