close

चन्दननाथको विपद् कोष : मानवीय क्षति भए १ लाख 

चन्दननाथको विपद् कोष : मानवीय क्षति भए १ लाख 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले नगर विपद् व्यवस्थापन समितिको विपद् राहत कोषमा हरेक वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । चालू आर्थिक वर्षमा पनि विपद् राहत कोषमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


नगरपालिकाले विपद्मा परेर मानवीय क्षति भएको अवस्थामा १ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । विपद्मा मानवीय क्षति नभई भौतिक संरचना क्षति भए १० हजार रुपैयाँ प्रदान गरिन थालेको नगर विपद् व्यवस्थापन समितिका नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपानेले बताए । 


गत आर्थिक वर्ष ३५ जनालाई विपद् राहत प्रदान गरिएको छ । त्यसका लागि नगर विपद् कोषबाट ७ लाख रुपैयाँ खर्च भएको नायव सुव्बा न्यौपानेको भनाइ छ । उनले भने, ‘चालू आर्थिक वर्षको माघ तेस्रो सातासम्म ३१ जनालाई १० हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ । विपद् कोषमा रहेको १० लाख रुपैयाँ न्यून छ । आगामी आर्थिक वर्षमा कोष वृद्धि गर्नुपर्ने देखिएको छ ।’

 
राहतका लागि नगरपालिकामा धेरैजसो आगलागीका घटनाका निवेदन बढी हुने गरेका छन् । राहत वितरणका लागि प्रहरी प्रतिवेदन र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । 

 

नगरपालिकाले राहत वितरणका साथै विपद्बाट जोगाउन सचेतना कार्यक्रम ल्याउनुपर्ने नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत सुनाउँछन् । उनले भने, ‘जुम्लामा धेरैजसो आगलागीका घटना हुने गरेका छन् । यसबाट करोडौँ रुपैयाँको क्षति भोग्नुपरेको छ ।’