close

संघीय-प्रदेश राजधानीमा जोडिन सडक योजना माग 

संघीय-प्रदेश राजधानीमा जोडिन सडक योजना माग 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पक्की सडक सञ्जालमार्फत राष्ट्रिय सडक सञ्जाल तथा प्रदेश राजधानीसँग नजोडिएका स्थानीय तहलाई आफ्नो पालिका केन्द्र जोड्ने एउटा सडक पहिचान गरी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएको छ । 

 

मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमले यस्तो सडक पहिचान गरी पठाउन भनेको हो । 

 

स्थानीय तहको केन्द्रसम्म गुणस्तरीय तथा सुरक्षित सडक सञ्जालको विस्तार गरी स्थानीय तहबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच पुर्‍याउने, रोजगारी सिर्जना गर्ने र आर्थिक, सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ स्थानीय तहलाई यस्तो प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । 

 

सडक पहिचान गर्दा सहज, छोटो, सुरक्षित र कम लागत लाग्ने, प्रदेश यातायात गुरुयोजना र गाउँ/नगर यातायात गुरुयोजना तयार भएको भए सोको प्राथमिकतामा परेको र तुलनात्मक रूपमा उच्च प्रतिफल प्राप्त हुने र अधिकतम जनसमुदायलाई सेवा पुग्ने प्रकृतिको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

यस्तै, सामाजिक, वातावरणीय तथा भौगर्भिक दृष्टिकोणले उपयुक्त, सडकको क्षेत्राधिकार स्पष्ट भइसकेको एवं पछि कार्यान्वयनमा जाँदा कुनै किसिमको बाधा-अवरोध नआउने र सडकले ओगट्ने जग्गाका जग्गाधनीले निःशुल्क रूपमा जग्गा उपलब्ध गराउन तयार रहेको अवस्थालाई आधार मानेर सडक पहिचान गर्नुपर्नेछ । 

 

स्थानीय तहले सडक पहिचान गरी पठाउँदा सडकको नाम, सडक सुरु हुने गाउँपालिका/नगरपालिका/वडा र स्थान, सडक अन्त्य हुने गाउँपालिका/नगरपालिका/वडा र स्थान, सडकको अन्दाजी लम्बाइ, सडक रेखांकनमा पर्ने मुख्य स्थानलगायत उल्लेख गरी पहिचान गरिएको सडकको नाम स्थानीय पूर्वाधार विकास विभागमा पठाउनुपर्नेछ । 

 

साथै, पहिचान गरिएको सडकको हालको अवस्था जस्तै, ट्रयाक खोल्नै बाँकी खण्ड कति, धुले, ग्राभेल र पक्की सडक खण्ड भए त्यसको अवस्थासमेत खोली पठाउन सकिनेछ ।