close

फर्कियो खोलो, सुर्नयामा छ्यालब्याल पानी (भिडियाे खबर)

फर्कियो खोलो, सुर्नयामा छ्यालब्याल पानी (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी- १२ वर्षमा खोला फर्किन्छ भन्ने लोकोक्ति निकै चर्चित छ । यस्तै भएको छ, बैतडीको सुर्नया गाउँपालिकामा । कुनै बेला पानीको निकै हाहाकार बेहोरेको गाउँपालिमा अहिले पानीको समस्या हटेको छ । 

 

त्यति मात्र नभई कुनै बेला किनेर पानी खाने गाउँबासी अहिले पानी बिक्रीसमेत गर्छन् । स्थानीय सरकार बनेपछि पहिलो पटक सुर्नया गाउँपालिकाले पानीका लागि भोग्नु परेको सास्ती अन्त्य भएको छ ।

 

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा सतबाँझ बजार जिल्लाको व्यस्त बजार हो । यो बजार दार्चुला र बैतडीका गाडी भेटिने चौराहासमेत हो । बैतडी र दार्चुलाबाट तराईका जिल्ला तथा राजधानी काठमाडौँ जाने गाडी बजारमा रोकिने गर्छन् । 

 

यहाँ ५० बढी पसल तथा होटल छन् । यस बजारमा प्रहरी चौकी, स्वास्थ्य चौकी, बैंक, वन कार्यालय, जिल्लाकै एक मात्र पेट्रोल पम्प, होटल, पसल तथा घर छन् । कुनै बेला पानीका लागि काकाकुल भएको यो ठाउँमा अहिले प्रशस्त पानी छ । 

 

गाउँपालिकाको सानो प्रयासले गर्दा पानीको समस्या अन्त्य त भयो नै, अहिले उल्टै बिक्री गर्न थालिएको वडा नम्बर २ की व्यापारी लक्ष्मी भट्ट बताउँछिन् ।


सतबाँझ बजारमा विगतमा भने लिफ्टिङ प्रणालीको खानेपानी थियो । तर, खानेपानी १० वर्षअघि बिग्रियो । खानेपानी बनाइदिन सबै निकायलाई आग्रह गर्दा पनि कसैले बनाइदिएनन् । 

 

१० वर्षपछि बल्ल गाउँगाउँमा आएको स्थानीय सरकारले १० लाख रुपैयाँ रकम खर्चेर लिफ्टिङ प्रणालीको खानेपानी मर्मत गरिदिएसँगै सतबाँझको जीवनस्तर फेरिएको स्थानीय व्यापारी ध्वजबहादुर थलाल र धु्रवबहादुर चन्द सुनाउँछन् ।

 

 

खानेपानी उपभोक्ताले १ हजार लिटर पानीको २ सय ५० रुपैयाँ मात्रै तिर्ने गर्छन् । अहिले सतबाँझ, स्यागैर, सिउडे बजार गरी करिब ५० जनाले मिटरबक्स नै जडान गरेर खानेपानी प्रयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष 
लीला विष्टले जानकारी दिइन् ।


खानेपानी मर्मतका लागि सुर्नया गाउँपालिकाले गरिदिएको पहल सतबाँझ बासीका लागि लाभदायी भएको छ ।