close

वडा-वडाका घरधुरी डुल्दै सिरिजंघा प्रशासन

वडा-वडाका घरधुरी डुल्दै सिरिजंघा प्रशासन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- योजना सम्झौता गरिए पनि लक्ष्यअनुसार प्रगति नभएपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडास्तरमै अनुगमन गर्न थालेको छ । सिरिजंघाले हालसम्म भए-गरेका योजनाबारे समीक्षासहित टोल विकास संस्थाका पदाधिकारीसँग छलफल कार्यक्रम सुरु गरेको हो ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे नेतृत्व टोलीले गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी र उपभोक्ता समितिका पदाधिकारीसँग योजना सञ्चालनको अहिलको अवस्था र कार्यप्रगतिबारे जानकारी लिन सुरु गरेको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले पालिकाभित्रका सबै वडाहरूमा पुगेको योजना सञ्चालनको अवस्था, कार्यप्रगति, समस्या, चुनौतीलगायत स्थानीय स्तरमै तयार गर्ने गरी अभियान सुरु गरिएको जानकारी दिए । अहिलेसम्म वडा नम्बर १ सिनाम र वडा नम्बर २ आम्बेगुदिनमा यस्तो कार्य सम्पन्न भएको उनले बताए ।

 

टोलीमा लेखा प्रमुख, योजना शाखा प्रमुख र प्राविधिक शाखा प्रमुखसमेत सहभागी भएका छन् । ‘पालिकाभित्रका ८ वटै वडामा पुगेर योजना सञ्चालनको अवस्थाबारे छलफल गर्ने योजना छ’, घिमिरेले भने ।

 

सिरिजंघा गाउँपालिकाले पालिकाभरिमा ७२ वटा टोल विकास संस्था गठन गरी १० लाख रुपैयाँभन्दा मुनिका योजना टोल विकास संस्थामार्फत नै सञ्चालन हुने व्यवस्था मिलाएको छ । 

 

साविकका प्रत्येक गाउँ विकास समितिका प्रत्येक वडालाई एउटा टोल विकास संस्थाको क्षेत्राधिकार प्रदान गरिएको छ । टोल विकास संस्थाका पदाधिकारी आफैं उपभोक्ता समितिमा रहेकाले छलफलमा उनीहरूलाइ अनिवार्य उपस्थित गराइएको छ ।

 

टोल विकास संस्थाका पदाधिकारी, सम्बन्धित वडाका जनप्रतिनिधि, गाउँपालिकाका प्रशासनिक निकायका प्रमुखको उपस्थितिमा भएको छलफलले वडाभरिको विकास निर्माणको अवस्था, समस्या र चुनौती बताउने भएकाले यसको सहजीकरणका लागि वडागत भ्रमण थालिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

 

योजना सञ्चालनको क्रममा देखिएका समस्या स्थानीय स्तरमै समाधान सम्भव भए त्यसको गाँठो त्यहीँ फुकाउने र नीतिगत व्यवस्था अनिवार्य भएको अवस्थामा कार्यपालिका बैठकमा पेस गर्ने प्रक्रिया रहेको जानकारी उनले दिए ।

 

‘विषयगत शाखाका प्रमुखसमेत सहभागी भएकाले अधिकांश समस्याको स्थानीय स्तरमै सम्बोधन हुनेछ’, घिमिरेले भने ।