close

बढ्दाे चिसाेले कञ्चनपुरको भीमदत्तमा जनजीवन प्रभावित (भिडियाे खबर)

बढ्दाे चिसाेले कञ्चनपुरको भीमदत्तमा जनजीवन प्रभावित (भिडियाे खबर)

ADVERTISEMENT

कञ्चनपुर- करिब डेढ सातादेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण पश्चिम नेपालको कञ्चनपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिनयता कैलाली कञ्चनपुरमा एक्कासि बढेको चिसोले सुकुम्बासी, आरक्षपीडित तथा मुक्त कमैया बस्तीका बासिन्दा बढी प्रभावित बनेका छन् । 

 

न्यानो लुगा र चिसो छल्ने सामर्थ्य नभएका टहराको बसाइका कारण गरिब बस्तीका बासिन्दा चिसोबाट प्रभावित भएका छन् । 

 

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ को सुकुम्बासी ग्रीन टोलका मानिसको मुख्य पेसा भनेको ज्याला मजदुरी गर्नु हो । १ सय २८ परिवार रहेका यस बस्तीका सबै वासिन्दाले दिनभर लेबरी गर्छन् र साँझ त्यही दिनभरिको काम गरेर आएको ४ सय ५ सय रुपैयाँले दाल, चामल किनेर साँझ-बिहान हात मुख जोड्ने गर्छन्  ।

 

चिसोका कारण काम गर्न असहज हुने भइहाल्यो । साथमा शरीरमा लगाउने न्यानो कपडा पनि छैन । न त न्यानो ओड्ने बिच्छ्याउने नै । अहिलेसम्म स्थानीय सरकारबाट समेत कुनै सहयोग नआएको भीमदत्त नगरपालिकाका सुकुम्बासी भरतलाल चौधरी र माया थारुको गुनासो छ ।

 

वर्षकै अधिक जाडोका कारण बालबालिका तथा वृद्धहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । अत्यधिक चिसोबाट जोगिन घरपरिवारलाई आवश्यक न्यानो लुगाफाटो नभएका कारण कठ्यांग्रिदो जाडोका कारण प्रभावित हुनुपरेको छ । चिसोका कारण विद्यालय जान नसकेको बालिका मोनुबेला डगौरा बताउँछिन् ।

 

चिसो र जाडो छल्न स्थानीय आँगन,चोक चौराहामा आगो बालेर ताप्न बाध्य भएका छन् । कञ्चनपुरमा एक्कासि बढेको जाडोका कारण जनजीवन प्रभावित भइरहे पनि ग्रामीण भेगका गरिब, विपन्न, आरक्षपीडित, मुक्त कमैया तथा सुकुम्बासी बस्तीमा जाडोको प्रभाव घटाउन स्थानीय निकाय र प्रशासनले लत्ताकपडा, दाउरालगायतका सामग्री वितरणको कुनै कार्यक्रम ल्याउन नसक्दा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ ।

 

अब भने सुकुम्बासी टोलसँग समन्वय गरेर कपडा वितरण गर्ने तयारी भइरहेको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।