close

निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन 

निर्माण नहुँदै उद्घाटन भयो दाना-कुश्मा प्रसारण लाइन र सब-स्टेसन 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको दाना र पर्वतको कुश्मा जोड्ने विद्युत् प्रशारण लाइन तथा सब-स्टेसन निर्माण पूरा नहुँदै उद्घाटन भएको छ ।प्रधानमन्त्री केपी ओलीले बालुवाटारको एक्सनरूमबाट भर्चुअल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भौतिक रूपमा उपस्थित भएर उद्घाटन गरेको यो आयोजना निर्माण अझै ३ प्रतिशत बाँकी छ । 


पर्वतको कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटमा बिहीबार भएको उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणले वितरण गरेको पर्चामा कालीगण्डकी प्रसारण करिडोरअन्तर्गतको कुश्मा-दाना खण्डको हालसम्मको भौतिक र वित्तीय प्रगति ९७ प्रतिशत भएको उल्लेख छ । 

 

खुर्कोट र दाना सब-स्टेसनको पावर पलान्ट, प्रशासनिक तथा आवास भवन, घेराबार निर्माण र फिनिसिङ गर्ने काम बाँकी नै छ ।

 

२२० केभी क्षमताको प्रसारण लाइनको १ सय १० वटा टावर निर्माण, ३९.६ किलोमिटर दूरीको तार तान्ने र सबस्टेसनमा उपकरण जडान गरेर परीक्षण गर्ने काम सकिएको उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका थिए । 

 

सरकारले काम गरेको देखाउन प्रचार गर्न प्रधानमन्त्री र ऊर्जामन्त्रीको दबाबमा उद्घाटन गरिएको कुश्मा-दाना सबस्टेसन र प्रसारण लाइन चार्ज गरेर नोलोड सिस्टममा सञ्चालन गरिएको छ । 

 

म्याग्दीको नारच्याङमा परीक्षण उत्पादनको तयारीमा रहेको ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजना सञ्चालन भएपछि मात्र लोड दिएर विद्युत् आपूर्ति गराउन सकिने प्राधिकरण र आयोजनाका अधिकारीले बताए ।


दाना सबस्टेसनमा जोडिएको १३.४ मेगावाट क्षमताको थापा खोला र ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकेपछि मोदी-चुवा हुँदै १३२ केभी विद्युत लगेर चार्ज गरिए पनि उद्घाटन समारोहमा उपस्थित ऊर्जामन्त्री रायमाझीले अब नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत् बिक्री गर्न पूर्वाधार बनाइरहेको घोषणा गर्न भ्याए । 


३ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमानको यो आयोजना निर्माण गर्न ३० मे २०१६ मा टाटा-चिन्ट इलेक्ट्रिक जेभीसँग २ अर्ब ७४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले अन्य आयोजनाको तुलनामा छिटो निर्माण भएको दाबी गरेको यो आयोजना जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढीपहिरोका कारण लक्ष्यभन्दा साढे २ वर्ष ढिला गरी सकिँदै छ । 

 

खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी क्षमताको सबस्टेसनका साथै यी २ ठाउँ जोड्ने १ सय १० वटा टावर बनाएर ३९.६ किलोमिटर प्रसारण लाइन बनेको छ ।

 

पर्वतको जलजला गाउँपालिकादेखि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ मा निर्माण हुने १३२ केभी क्षमताको राहुघाट सब-स्टेसन जोड्ने ४ वटा टावर निर्माण गर्न बाँकी छ । 

 

एसियाली बिकास बैंकको सहयोगमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनले म्याग्दी, मुस्ताङलगायत कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन बताउँछन् । 


कुश्मादेखि बर्दघाटतर्फ पनि प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाटतर्फको लाइन तयार नहुँदासम्म पोखरा सब-स्टेसनमा जोडिने भएको छ ।

 

दाना-कुश्मा प्रसारण लाइनमा ६ सय मेगावाट र कुश्मादेखि बुटवलसम्मको प्रसारण लाइनमा १ हजार ५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको छ । यो हालसम्म नेपालमा निर्माण भएमध्ये ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो हो ।