close

पैसा नदिएको भन्दै अस्पतालले उपचार गर्न मानेन, बिरामी बोकेर कहिले पोखरा कहिले बागलुङ

पैसा नदिएको भन्दै अस्पतालले उपचार गर्न मानेन, बिरामी बोकेर कहिले पोखरा कहिले बागलुङ

Trulli
ADVERTISEMENT

बागलुङ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेमबहादुर सार्की(लट्टे)को परिवारले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।


आर्थिक अभावका कारण अस्पतालहरुले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको हो । १९ माघमा रुखबाट लडेका प्रेमबहादुरलाई धौलागिरी अस्पताल बागलुङ ल्याइएको थियो । बागलुङमा उपचार सम्भव नभएको भन्दै अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको थियो ।


मणिपालले पहिले उपचारका लागि आवश्यक रकम जम्मा गर्न भनेपछि उनको उपचार हुन सकेको छैन । अस्पतालले उपचार गर्न नमानेको भन्दै प्रेमबहादुरलाई पुन धौलागिरी अस्पताल बागलुङ नै ल्याइएको छ । उनलाई अस्पतालमा भर्ना गरेर सामान्य उपचारको काम भइरहेको छ । दुवै हातखुट्टामा स्टिल राख्नुपर्ने गरी भाँचिएकाले अस्पतालले पोखरा पठाएको हो । स्टिल राखेर उपचार गर्न बागलुङमा सम्भव छैन ।


मणिपाल अस्पतालले हातखुट्टा भाँचिएका प्रेमबहादुरलाई फिर्ता पठाएपछि उद्योग वाणिज्य संघ बागलुङले उनको उपचारको लागि आर्थिक अभियान सुरु गरेको छ । ‘हाम्रो महासचिवले खाता खोलेर अभियान सुरु गर्नुभएको छ, सबैलाई उपचारमा सहयोग गर्न आग्रह गर्दछौं’, अध्यक्ष युवराज राजभण्डारीले भने, ‘हामी जसरी भएपनि उनको उपचार गर्ने अभियानमा छौं ।’


आर्थिक संकलन अभियानसँगै उनको उपचार निःशुल्क गराउने पहलसमेत भइरहेको परिवारले जनाएको छ । बागलुङ नगरपालिका–५ वडा कार्यालयले सूचना नै जारी गरेर उपचार खर्च सहयोग गर्न अपिल गरेको छ । ‘अरु उपचार निःशुल्क गराउने गरी धौलागिरी अस्पतालले गण्डकी अस्पताललाई लेखेर पठाएको छ’, राजभण्डारीले भने, ‘स्टिल राख्न मात्रै डेढ लाख खर्च लाग्छ भनेका छन्, त्यसका लागि सबैले सहयोग गरिदिनुपर्यो ।’

 
मालिका स्थायी घर भएका प्रेमबहादुर बागलुङ नगरपालिका–४.मा अस्थायी बासोबास र ज्याला मजदुरी गर्दै आएका छन् । परिवारमा उपचार खर्च जुटाउन सक्ने अवस्था नरहेकाले सहयोगको याचना गर्नुपरेको उनकी श्रीमती कमला सार्कीले बताइन् ।