close

'ज्येष्ठ नागरिकसँग मेयर' कार्यक्रम चलाउँदै रामग्राम

'ज्येष्ठ नागरिकसँग मेयर' कार्यक्रम चलाउँदै रामग्राम

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा ज्येष्ठ नागरिक प्रत्यक्ष सहभागी हुन नसक्ने हुँदा तिनका विचारलाई पालिकाको हितमा सदुपयोग गर्न ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम ल्याउन लागिएको हो ।


नगरप्रमुख नरेन्द्रकुमार गुप्ताका अनुसार बुधबार रामग्राम नगरपालिकाले ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रमअन्तर्गत सरोकारवालासँग १ दिने अभिमुखीकरण गरेको छ ।

 

ज्येष्ठ नागरिकले स्वास्थ्य चौकीमा गएर सेवा लिन सक्ने अवस्था नभएकाले हरेक महिना उनीहरूकै घरमा स्वास्थ्यकर्मी पठाएर सेवा प्रदान गर्ने कार्यक्रममा समावेश गरिएको नगरप्रमुख गुप्ताले बताए ।

 

६५ देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई मेयर कार्यक्रममा समावेश गरिनेछ ।


‘८४ वर्षभन्दा बढी उमेर समुहका ज्येष्ठ नागरिकलाई प्रदेश सरकारको कार्यक्रम रहेकाले नगरपालिका यस प्रकारको उमेर हदबन्दी कायम गरेको हो’, उनले भने ।


त्यसैगरी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने र सरकारले तोकेका औषधि सबै निःशुल्क वितरण गरिने नगरप्रमुख गुप्ताको भनाइ छ । नगर कार्यपालिकाको छैटौँ नगरसभाले यो कार्यक्रमलाई अनुमोदन गरी लागू गरेको उनले बताए । 


नगर उपप्रमुख रम्भा कुँवर र प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले रामग्राम नगरपालिकाले सञ्चालन गर्न लागेको ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम पृथक रहेको दाबी गरे ।


नगरपालिकाको स्वास्थ्य शाखाका सुरज हरिजनका अनुसार हाल रामग्राममा ६५ देखि ८४ वर्षसम्मका २ हजार ८ सय ७ जना ज्येष्ठ नागरिक छन् ।