close

बराहपोखरीका सबै वडामा सडक 

बराहपोखरीका सबै वडामा सडक 

Trulli
ADVERTISEMENT

खोटाङ- स्थानीय तहको निर्वाचन अगाडि खोटाङको बराहपोखरी गाउँपालिकामा धाप्लाङ-धर्तुङ-चिसापानी सडक र वंशिलाघाट-चिसापानी सडक मात्र सञ्चालनमा थियो ।

 

वंशिलाघाट-चिसापानी सडक पनि जोडिन बाँकी नै थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि वंशिलाघाट-चिसापानी सडकलाई जोड्ने काम भयो ।

 

जनप्रतिनिधिले बनिसकेका सडकलाई स्तरोन्नति गर्ने र गाउँपालिकाका वडा-वडा जोड्ने कच्ची सडक निर्माणको कामलाई प्राथमिकतामा राखे । फलस्वरूप हाल गाउँपालिकाका ६ वटै वडामा सडक पुगेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

 

‘सडक विस्तारलाई प्राथमिकतामा राखेका कारण अहिले बराहपोखरीको वडा-वडामा आउजाउ गर्न समस्या छैन । सडक विस्तारका कारण यात्रा गर्नदेखि उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको छ’, बराहपोखरी गाउँपालिका वडा नम्बर ५ पौवासेराका छत्रबहादुर राउत भन्छन् ।

 

हाल बराहपोखरीको वडा नम्बर १ बराहपोखरीमा खोटेहाङ गाउँपालिका हुँँदै दिक्तेल पुग्ने सिन्ताङ-बराहपोखरी-ठूलीबेँसी सडक, जन्तेढुंगा गाउँपालिका जोड्ने बराहपोखरी-जिमीगाउँ-निगाले-केराबारी सडक, खोटेहाङ गाउँपालिका जोड्ने जिमीगाउँ-गहते-सावाखोला सडक, डाँडाखर्क-रुम्दु-पिपले-अजिंगरे सडक, घोप्टेथला-कात्तिके सडक, बराहपोखरी-खाल्ले-डुम्रीबोटे सडक निर्माण गरिएको छ । 

 

यस्तै, बराहपोखरी गाउँपालिका वडा नम्बर २ सुन्तलेमा सिस्नेरी-खण्डपुर सडक, देउरालीभन्ज्याङ-साकुमा सडक, बराहपोखरी गाउँपालिका वडा नम्बर ३ साउनेचौरमा घोरिँखा-भदौरे-साउनेचौर सडक, घोरिँखा-सयाँले-साउनेचौर सडक विस्तार भएको छ ।


साउनेचौर-अदुवाबारी-सिन्ताङ सडक, साउनेचौरधाप-बन्दुवा सडक, ओख्रेखोला-भोर्लेनी सडक, सातदोबाटो-लेनटार सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष बञ्जराले बताए । 

 

बराहपोखरीको वडा नम्बर ४ फाक्टाङमा धाप्लाङघाट-मासिङटार-वडा कार्यालय, घोरिँखा-घाँटीभन्ज्याङ-वडा कार्यालय, उदयपुर जोड्ने वडा कार्यालय-बेतुवा-अटलपुर-कम्पुघाट, मासिङटार-बडहरेडाँडा-कम्पुघाट सडक निर्माण गरिएको छ ।

 

यस्तै, बराहपोखरीको वडा नम्बर ५ पौवासेरामा बाघखोरभन्ज्याङ-बोयाटार, बोयाटार-चिउरीबोटे-अर्खुटार-मुक्तुङ-चमेरेपुल, बोयाटार-च्यांखुवा, दमार-बुवाँखोला र कोछाले तिर्चिपा सडक निर्माण गरिएको छ ।

 

बराहपोखरीको वडा नम्बर ६ मौवाबोटेमा सिन्ता-दाप्सा-वडा कार्यालय-गाउँपालिका, राङभांगे-चाप्लुखा, दोभाने-वालिंखा, तम्बुवा-दिप्लुङलगायत सडक निर्माण भएको छ । 


५ वटा सडकको डीपीआर बन्दै 

 

सुरुमा सडक विस्तारलाई प्राथमिकतामा राखेको गाउँपालिकाले हाल ५ वटा सडक निर्माणका लागि डीपीआरको काम गरिरहेको छ ।

 

गाउँपालिकाको कार्यालयबाट वडा कार्यालय बोयाटार (पौवासेरा), सिन्ताङ-वडा कार्यालय मौवाबोटे, घोरिङ्खा-वडा कार्यालय साउनेचौर, घोरिङ्खा-वडा कार्यालय फाक्टाङ र खोटेहाङ जोड्ने धाप्लाङघाट-बराहपोखरी-ठूलीबेँसी सडकको डीपीआर निर्माण सुरु गरिएको हो । कालोपत्रेसहितको डीपीआरको काम भइरहेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए ।