close

दीपकको तेक्वान्दो क्रेज : लुकेर ब्ल्याक बेल्ट, खुलेर प्रशिक्षण

दीपकको तेक्वान्दो क्रेज : लुकेर ब्ल्याक बेल्ट, खुलेर प्रशिक्षण

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौरका २७ वर्षीय दीपक घर्ती डब्लुटिएफ तेक्वान्दो खेलका प्रशिक्षक हुन् । उनी २०५६ मा परिवारसँगै भारत गए । परिस्थितिले कक्षा ८ भन्दा माथि पढ्न पाएनन् ।

 

सानै उमेरबाट होटलमा कुकको काम थाले । उनमा डब्लुटिएफ तेक्वान्दो सिक्ने रहर सानैदेखि थियो । घर्तीले पढ्ने विद्यालयमै पनि डब्लुटिएफ तेक्वान्दो डोजाङ थियो ।

 

तर, आर्थिक अभावका कारण सिक्न पाएनन् । उनले १४ वर्षको उमेरमै कामसँगै डब्लुटिएफ तेक्वान्दो सिक्न सुरु गरे । घर्तीलाई खेलको रहर र परिवारलाई जीविकोपार्जन चलाउने चिन्ता । 

 

काम पनि बिग्रने र चोटपटक लाग्ने भएकाले परिवार एवं छिमेक कसैले खेल्न जान दिएनन् । उनले लुकेरै भए पनि खेल्न थाले । घर्तीलाई कामबाट फुर्सद मिलाउन र परिवारलाई ढाँट्न त्यति सजिलो थिएन ।

 

बीचमा विभिन्न समस्या नआएका होइनन् । तर, निरन्तर काम र खेलप्रतिको संघर्ष चलिरह्यो । दीपकले २०७० मा अल इन्डिया तेक्वान्दो एकेडेमीबाट ब्ल्याक बेल्ट पाए ।

 

मिडियामा छाए दीपक


घर्तीले ३ वर्षपछि एउटा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए । उनी ‘इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप’ मा जुनियरमध्येबाट सहभागी हुने भारतका ५० जना खेलाडीमध्येका एक हुन् ।

 

खेलमा प्रथम भए । भारतका जुनियर र सिनियर ७ वटाभन्दा बढी खेलमा घर्तीले सहभागी भए । उनी ७ मध्ये पहिलो हरियाणा राज्यको खेलमा प्रथम भएका थिए । त्यसपछि भारतमा थुप्रै क्षेत्रीय र राष्ट्रिय स्तरका खेलमा राष्ट्रिय खेलाडीको रूपमा सहभागी बने ।

 

मिडियामा चर्चा सुरु भएपछि मात्रै परिवारले दीपक खेल्न थालेको पत्तो पाए । ‘घर कुरा गरे खेल्न नपाउनेमा ढुक्क थिएँ । परिवारले मिडियामा आएपछि मात्रै थाहा पाएका हुन्,’ उनले भने, ‘धेरै अभिभावकसँग खेल्दा चोटपटक लाग्ने भ्रम छ ।’ 

 

अहिले दीपकको परिवार खुसी छ । उनको घरपरिवार फर्किएर घर आएको छ । बुबा टंकबहादुर घर्तीले छोराको खेलबाट आफू सन्तुष्ट र प्रभावित बनेको प्रतिक्रिया दिए । 

 

‘छोराछोरीहरूको प्रतिभा बेलैमा पहिचान गरेर अगाडि बढ्न दिनुपर्ने रहेछ,’ उनले भने, ‘छोराको प्रतिभालाई कसैले रोकेर रोकिएन ।’

 

गाउँ-गाउँमा तेक्वान्दो प्रशिक्षण


दीपकले ब्ल्याकबेल्ट पाएपछि भारतमै ३ वर्ष प्रशिक्षक भएर काम गरे । विस्तारै जन्मभूमिप्रतिको स्नेह बढ्दै गयो । गुरु इन्द्रबहादुर रानासहित परदेशमा खेल सिकेर स्वदेश फर्किए । 

 

२०७२ बाट नवलपरासीको अरुणखोलामा प्रशिक्षण सुरु गरे । दीपकले नवलपरासीमा करिब ५ वर्ष डब्लुटिएफ तेक्वान्दो सिकाए । 


त्यसपछि अहिले आफ्नै गृहजिल्ला गुल्मी आएका छन् । उनले गुल्मीमा डब्लुटिएफ तेक्वान्दो प्रशिक्षकको रूपमा काम गर्छन् । 

 

दीपकले अहिले इस्माको ठाढुंगा माविमा ४० जना विद्यार्थीलाई तेवान्दो सिकाउँदै आएका छन् । सातामा ४ दिन डेढ घन्टासम्म प्रशिक्षण दिँदै आएका छन् । 

 

यो खेलको कोर्स ३ वर्षको हुन्छ । अहिले कक्षा ५ देखि १० कक्षासम्म पढ्ने विद्यार्थी प्रशिक्षणमा सहभागी छन् । इस्मा तेक्वान्दो डोजाङ निर्माण गरेर १० छात्रा र ३० जना छात्रहरूले डब्लुटिएफ तेक्वान्दोको प्रशिक्षण थालेका छन् । 

 

यो खेल ४ चरणमा हुने गर्छ । एल्लो, ग्रिन, बिल्यु, रेडपछि फुल ब्ल्याकबेल्ट पाएपछि अन्तर्राष्ट्रिय कोरियन सर्टिफिकेट प्राप्त हुन्छ । 

 

सम्मान, सुविधा र संरचना अभाव


डब्लुटिएफ तेक्वान्दोका प्रशिक्षक दीपक घर्तीले नेपालमा खेल र खेलाडीप्रति सम्मान र सुविधा नभएको गुनासो गरे । खेल क्षेत्रमा आवश्य संरचना पनि नेपालमा नभएको उनले सुनाए ।

 

डब्लुटिएफ तेक्वान्दो कभर्डहलमा खेलाइने खेल हो । तर, गाउँका खुला चौरमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता रहेको घर्तीले बताए । नेपालमै पनि सहरमा भन्दा गाउँ-गाउँमा क्रमशः यो खेलप्रति सम्मान कम भएको उनको अनुभव छ ।

 

दीपकले नवलपरासी र गुल्मीमा पनि खेलाडी, अभिभावक र स्थानीय तहको खेल क्षेत्र हेर्ने दृष्टिकोण फरक रहेको बताए । ‘गाउँका युवामा खेल खेल्ने रहर बढी भए पनि पैसा छैन । सहरमा पैसा हुनेसँग रहर छैन,’ उनले भने, ‘यो अवस्था बदल्न राज्यले नै खेलप्रतिको सोच बदल्नुपर्छ ।’ 

 

भारतमा खेल र खेलाडीप्रतिको सुविधा र सम्मान निकै राम्रो भएको घर्तीले बताए । ‘भारतमा सम्मान र सुविधा भएर मलाई पछुतो छैन । देशमै केही गर्ने हो,’ उनले भने, ‘गाउँ-गाउँमा स्थानीय सरकारले खेल क्षेत्रमा चासो दिए धेरै परिवर्तन सम्भव छ ।’