close

बाग्लुङ नगरले लियो हातखुट्टा भाँचिएका प्रेमबहादुरको उपचार खर्चको जिम्मा

बाग्लुङ नगरले लियो हातखुट्टा भाँचिएका प्रेमबहादुरको उपचार खर्चको जिम्मा

Trulli
ADVERTISEMENT

बागलुङ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार पालिका खबरमा सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे) को उपचार खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेको हो ।


आर्थिक अभावका कारण अस्पतालले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको थियोे । बागलुङ नगर प्रमुख जनकराज पौडेलले वडाध्यक्ष र आफ्नो सचिवालयका कर्मचारीलाई फोन गरेर प्रेमबहादुरको उपचार खर्चको व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।


काठमाडाैंमा रहेका प्रमुख पौडेलले गण्डकी अस्पताललाई नगरले खर्च बेहोर्ने अनौपचारिक जानकारी गराएको र नगरपालिकाको तर्फबाट सहयोगका लागि प्रक्रिया थालिएको बताए । ‘उहाँहरू अहिले अस्पताल पुग्दै हुनुहुन्छ । हामी कुनै न कुनै रूपमा त्यहाँ उपस्थित भएर व्यवस्था मिलाउँछौँ,’ पौडेलले भने, ‘उपचार सकिएपछि बिल भर्र्पाइका आधारमा सबै खर्च नगरपालिकाले बेहोर्छ ।’


वडा कार्यालयले प्रेमबहादुरको उपचारका लागि सहयोगस्वरुप ५ हजार रुपैयाँको चेक तयार गरे पनि परिवारका सदस्य नभेटेका कारण हस्तान्तरण गर्न नसकिएको जनाएको छ । ‘चेक बनाएर राखेका छौँ । दिने मान्छे भेटिएनन्,’ वडाध्यक्ष शिवप्रसाद सापकोटाले भने ।


१९ माघमा रुखबाट लडेका प्रेमबहादुरलाई धौलागिरि अस्पताल बागलुङ ल्याइएको थियो । बागलुङमा उपचार सम्भव नभएको भन्दै अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको थियो ।


मणिपालले पहिले उपचारका लागि आवश्यक रकम जम्मा गर्न भनेपछि उनको उपचार हुन सकेको थिएन । मणिपाल अस्पतालले हातखुट्टा भाँचिएका प्रेमबहादुरलाई फिर्ता पठाएपछि उद्योग वाणिज्य संघ बागलुङले उनको उपचारका लागि आर्थिक अभियान सुरु गरेको थियो ।


उद्योग बाणिज्य संघले शुक्रबारसम्म ३० हजार रुपैयाँ सहयोग संकलन गरेर सार्कीलाई पोखरा पठाएको थियो । बाटोमै रहेका बेला पीडित प्रेमबहादुरकी श्रीमती कमलालाई नगरपालिकाले खर्च बेहोर्ने जानकारी गराएको छ । मालिका स्थायी घर भएका प्रेमबहादुर बागलुङ नगरपालिका वडा नम्बर ४ मा अस्थायी बसोबास र ज्याला मजदुरी गर्दै आएका छन् ।