close

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न सरकारले तोक्यो ३० सीमानाका

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न सरकारले तोक्यो ३० सीमानाका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले देशभरका ३० वटा अन्तरदेशीय नाकामार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिनेसहितका प्रावधान राखेर नेपाल आगमन हुने यात्रुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्वन्धी मापदण्ड, २०७७ जारी गरेको छ ।

 

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण देखापरेको अवस्थामा जारी मापदण्डअनुसार सीमा नाकामा रहेको हेल्थ डेस्कबाट प्रवेश अनुमति पाउने यात्रुलाई पनि अब स्थानीय तहले कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।

 

११ माघमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको सो मापदण्डको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोधार्थ तथा कार्यार्थका लागि विभिन्न निकायमा पठाएको हो ।  मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, परराष्ट्र, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र पठाएका छन् ।

 

कार्यविधिअनुसार स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले अब इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र खजुरगाछी, मोरङको रानी, सुनसरीको भन्टाबारी, सप्तरीको कुनौली, सिराहाको माडर, धनुषाको जटही र इनरुवा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र बंकुल, बाराको मटिअर्वा र सिम्रौनगढ, पर्साको वीरगञ्ज र नवलपरासी बर्दघाट सुस्ता पूर्वको त्रिवेणी नाकामार्फत मात्र स्थलमार्ग हुँदै नेपाल प्रवशे गर्न पाइनेछ ।

 

यस्तै, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महेशपुर, रूपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, दाङको कोइलावास, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर गुलरिया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको दार्चुला, रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मात्र स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाइने कार्यविधि बनेको छ ।

 

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण देखापरेका स्थानमा रही स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका मित्रराष्ट्रका नागरिकले नेपाल आवागमनका लागि यात्रा सुरु गर्नुअघि स्वाब संकलन भएको समयबाट ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट सीमानाकामा रहेको स्वास्थ्य डेस्कमा बुझाउनुपर्नेछ ।

 

सीमानाकामा रहेको स्वास्थ्य डेस्कले आवश्यक स्वास्थ्य परीक्षण गरेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले लक्षण देखिएका व्यक्तिलाई आइसोलेसन केन्द्र वा अस्पतालमा प्रेषण गर्ने र अन्य यात्रुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी १० दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।