close

जुम्लाका दुईवटा चामल डिपो रित्तै,  स्थानीय मारमा 

जुम्लाका दुईवटा चामल डिपो रित्तै,  स्थानीय मारमा 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको खाद्य डिपोमा चालु आर्थिक वर्षको माघ महिनाको अन्तिम सातासम्म पनि अनुदानको चामल आइपुगेको छैन । चालु आर्थिक वर्षको साउन महिना मै आइपुग्नु पर्ने हो । तर अहिलेसम्म अनुदानको चामल खाद्य डिपोमा नपुग्दा स्थानीय महंगो रकम तिरेर चामल खान बाध्य भएका छन् । 

 

तिला गाउँपालिका-८ जुम्लाको खाद्य डिपो र सिंजा गाउँपालिका-१ धाँपा खाद्य डिपोमा चालु आर्थिक वर्षको माघ महिनाको अन्तिम सातासम्म चामल नै नआएपछि अहिले दुवै खाद्य डिपो रित्तै छन् । 

 

तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्म डिपोमा चामल नै पुगेको छैन । उनले भने, ‘डिपोमा चामल नपग्दा पुरु, जुम्लाकोट, मालापानी, सुडीलगायत दर्जन बढी गाउँ प्रभावित छन् । यो क्षेत्रमा अरु अन्नपात उत्पादन भएपनि धान उत्पादन हुने खेतीयोग्य जमीन छैन ।’ 

 

यहाँको उत्पादनले वर्षभरी खान पुग्दैन । खाद्य डिपोमा चामल नपुग्दा बजारको महंगो चामल खरिद गरी खाने गरेको वडाध्यक्ष रावतले बताए । चामल आएपनि डिपोमा पुग्ने गरेको छैन । डिपोसम्म चामल ढुवानी गर्न सवारी साधनको पहुँच पुगेको छैन । 


जुम्लाकोट डिपोको भवन पनि छैन । द्धन्द्धकालमा भत्काइएको डिपोको भवन पुननिर्माण हुन सकेको छैन । डिपोमा आउने चामल भाडाको घरमा राख्ने गरिएको छ । 

 

जुम्लाकोट र धाँपा डिपोको ढुवानी जिम्मेवारी लिएको सुर्खेतस्थित बराल ढुवानी सेवाका प्रोपाइटर रमेश बरालका अनुसार चामल खपत नहुने अवस्था देखेपछि फागुनको दोस्रो सातामात्र चामल पुर्‍याउने योजना छ । उनले सुरु सुरुमा स्थानीय उपत्पादनले नै धान्ने भएकोले चामल ढुवानीमा ढिलाई गरिएको बताए । 
 

चामल उपलव्ध गराउन पटक पटक ताकेता गर्दा पनि बराल दुवाई सेवा सुर्खेतका ठेकेदार रमेश बरालले चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख तिलक सुनारले जानकारी दिए । 

 

दुई वटा डिपोलाई दुई हजार क्विन्टल कोटा  छ । डिपोमा चामल उपलव्ध नहुदा स्थानीय बजार र जुम्लाको सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लामा आएर लिने गरेका छन् ।

 

यहाँको सदरमुकामस्थिल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा सुर्खेतबाट १९ सय क्विन्टल, नेपालगज्जबाट १९ सय क्विन्टल र राजापुर बर्दियाबाट १८ सय क्विन्टल चामको वार्षिक कोटा रहेको शाखा प्रमुख सुनारले बताए ।