close

‘हाइड्रो भिलेज’ बन्दै नारच्याङ गाउँ

‘हाइड्रो भिलेज’ बन्दै नारच्याङ गाउँ

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा ४ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । थप ४ वटा निर्माण प्रक्रियामा रहेको नारच्याङमा जलविद्युत् आयोजनासँगै विकास, रोजगारी र आम्दानीको अवसर पनि भित्रिएको छ । 


५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण भइसकेको नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्री खोला परीक्षण उत्पादनको तयारीमा जुटेको छ । 


२०४३ मा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण भएको नारच्याङमा ६ मेगावाट क्षमताको रेले खोला आयोजनाले बेँसीगाउँदेखि लेकगाउँ हुँदै रेलेखर्कसम्म १४ किलोमिटर पहुँच मार्ग खनिसकिएको छ । 


चिनियाँ लगानीमा निर्माण हुने १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण स्थल नारच्याङमा १२ मेगावाट क्षमताको मिस्ट्री खोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको पनि सर्वेक्षण भइरहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामी बताउँछन् । 


नीलगिरि खोला हाइड्रोपावरले एकैसाथ १ सय ९ मेगावाट क्षमताको नीलगिरि १ र २ जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ । मिस्ट्री र रेले खोलाको दोभानस्थित दोभिल्नामा बन्ने नीलगिरि खोला २ जलविद्युत् आयोजनाको बाँधबाट २०७४ देखि सुरु गरेको नीलगिरि खोला १ जलविद्युत् आयोजनाको बाँध रहने हुम खोला जोड्ने पहुँच मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । 


अधिकांश ठाउँमा अक्करे पहाड फुटाएर १० किलोमिटर दूरीको पहुँच मार्ग निर्माण भइसकेको छ । थप १ किलोमिटर पहुँच मार्ग खनेपछि हुम खोला सडक सञ्जालमा जोडिनेछ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा निर्माण हुन लागेको नीलगिरि खोलाले पहुँच मार्गका साथै बाँध, सुरुङ र विद्युत्गृह निर्माण पनि धमाधम चलिरहेको इञ्जिनियर केशव वाग्लेले बताए । 

 

हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रोको ५ किलोमिटर ५ सय मिटरमध्ये ४ वटा अडिटबाट १ हजार ३ सय ५० मिटर सुरुङ खनिसकिएको छ । थप १ वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको नीलगिरि दोस्रोको छोटेपामा बाँध र दोभिल्नामा विद्युत्गृह निर्माण सुरु भएको छ । 

 

३८ मेगावाट क्षमताको नीलगिरि पहिलोको छोटेपामा विद्युत्गृह निर्माण सुरु गर्नुका साथै ३ किलोमिटरमध्ये २ सय मिटर सुरुङ खनिसकेको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको तयारी छ । 


१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको नीलगिरि खोला जलविद्युत् आयोजनालाई लगानी जुटिसकेको छ । सन २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करिब १ हजार जना मजदुर परिचालन भएका छन् । 


रानीबासमा कार्यालय र प्रशासनिक भवन बनाएको आयोजनाले निर्माण गरेको सडक, बेलीब्रिजलगायत पूर्वाधारले स्थानीयलाई समेत सुविधा पुगेको छ । आयोजनामा रोजगारी पाएका स्थानीयले सेयर लगानी गरेर जीवनस्तर सुधारमा सहयोग पुगेको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले बताए ।