close

ताप्लेजुङमा ८ सय ६६ जनाले लगाए कोरोना खोप

ताप्लेजुङमा ८ सय ६६ जनाले लगाए कोरोना खोप

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङमा पहिलो चरणमा ८ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ५ सय ४५ जना महिला र ३ सय २१ जना पुरुष गरी ८ सय ६६ जनाले खोप लगाएका हुन् ।


खरेलका अनुसार २ सय ७६ जना स्वास्थ्यकर्मी, ६० जना स्वास्थ्य सहयोगी कार्यकर्ता, ३ सय ४७ जना महिला स्वास्थ्य स्वयंसेविका र ६७ जना स्वास्थ्य सफाइ कर्मचारीलाई खोप लगाइएको छ ।


यस्तै, १७ जना एम्बुलेन्स चालक, ७ जना कोरोनाबाट मृत शरीरको व्यवस्थापन कार्यदलका सदस्य एवं कारागारमा रहेका र कारागार सुरक्षामा खटिएका ९० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । 


पहिलो चरणमा खोप लगाएका सबै ८ सय ६६ जनाले अब दोस्रो खोप पनि लगाउनुपर्नेछ । सुरुमा ३ हजार ९ सय २० जनालाई पुग्ने गरी दिइएको भनिएको खोप पछि ३ हजार १ सय २० जनाका लागि मात्र आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । 


उनका अनुसार ८ सय ६६ जनालाई खोप लगाउँदा ८७ भाइल प्रयोग भएको छ भने ४ डोज खोप नष्ट भएको छ । १ भाइलमा १० डोज खोप हुनुपर्नेमा ४ डोज भने अपुग भएको पोखरेलले बताए ।


जिल्ला अस्पतालको खोप केन्द्रबाहेक जिल्ला कारागार, फक्ताङ्लुङ गाउँपालिका, सिरिजंघास्थित तेल्लोक र सिदिङ्वाको साब्लाखुमा समेत पुगेर खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
गत १५ माघबाट सुरु भएको कोरोनाविरुद्धको खोपको पहिलो चरण २४ माघमा पूरा भएको थियो ।