close

चाँगुनारायणको आठौँ नगरसभा, ५ वटा विधेयकको प्रस्ताव

चाँगुनारायणको आठौँ नगरसभा, ५ वटा विधेयकको प्रस्ताव

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । नगरपालिकाले वडा नम्बर ७ स्थित तपादम्फोमा रहेको आफ्नै सभाहलमा कार्यक्रम सञ्चालन गरेको हो ।

नगरको अर्धवार्षिक बजेट समीक्षा

चालू आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैयाँ रहेकामा ११ माघसम्म ४६ करोड ६० लाख ४६ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३१.४३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार पुँजीगततर्फ ८१ करोड २५ लाख ९० हजार रुपैयाँमध्ये ३०.११ प्रतिशत खर्च भएको छ ।

नगरपालिकाका तर्फबाट ६७ करोड १ लाख १३ हजार ६ सय रुपैयाँमध्ये ३३.०३ प्रतिशत खर्च भएको छ । संघीय सरकारबाट ससर्ततर्फबाट २९ करोड ५६ लाख विनियोजन भएमध्ये ३८.०८ प्रतिशत खर्च भएको छ ।

बागमती प्रदेशबाट २ करोड ९७ लाख २० हजार रुपैयाँ बजेट विनियोजन भएमध्ये १२. २७ प्रतिशत प्रगति खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

कुन शीर्षकमा कति खर्च

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखामा कुल ३ करोड २८ लाख ७० हजार रुपैयाँ विनियोजन भएमध्ये हालसम्म १८ लाख ४६ हजार ४५ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५.६० प्रतिशत हो ।

स्वास्थ्यतर्फ ३ करोड ३५ लाख विनियोजित बजेटमध्ये १७ लाख ९४ हजार ९ सय ९३ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५.३० प्रतिशत हो ।

प्रशासन, महिला, बालबालिका ज्येष्ठ नागरिकतर्फ १ करोड ६० लाख ३० हजार रुपैयाँ विनियोजित बजेटमध्ये ४ लाख ८० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

१२ करोड ६० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन गरिएको थियो । त्यसमध्ये ४ करोड १९ लाख ७२ हजार १ सय ३९ रुपैयाँ पहिलो किस्ता वितरण गरिएको छ । पशुपक्षी विकासतर्फ ७६ लाख ६२ हजार विनियोजित बजेटमध्ये १०.८ प्रतिशत खर्च भएको छ ।

कृषि विकासतर्फ १ करोड ९७ लाख विनियोजित वजेटमध्ये ७.६६ प्रतिशत खर्च भएको छ । सूचना प्रविधि क्षेत्रमा १ करोड ६२ लाख बजेट विनियोजन भएमध्ये १७.२६ प्रतिशत खर्च भएको छ ।

त्यस्तै, आयुर्वेद शाखातर्फ कुल १२ लाख ४५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३९.८५ प्रतिशत खर्च प्रगति रहेको छ ।

राजस्व संकलन

सभामा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै नगर उपप्रमुख बिना बाँस्तोलाले गएको ६ महिनाको बीचमा नगरपालिकाले २५.३० प्रतिशत राजस्व संलकन भएको बताइन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि कुल २८ करोड ७१ लाख ६० हजार रुपैयाँ आय प्रक्षेपण गरेकामा ११ माघसम्म ७ करोड २६ लाख ७६ हजार ८ सय ४४ रुपैयाँ संकलन गरेको थियो ।

नगरसभाले ५ वटा विधेयक प्रस्तावमा राखेको छ । ३ वटा संशोधन प्रस्तावना राख्नुको साथै २ वटा संरचनात्मक प्रस्ताव रहेका छन् ।