close

बागलुङको ‘सुन्तला गाउँ’ सिगानामा भण्डारण र चिस्यान केन्द्र (भिडियो रिपोर्ट)

बागलुङको ‘सुन्तला गाउँ’ सिगानामा भण्डारण र चिस्यान केन्द्र (भिडियो रिपोर्ट)

ADVERTISEMENT

बागलुङ– कोरोना महामारी नभएको भए यतिबेला बागलुङको बागलुङ नगरपालिकास्थित सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर सिजनको फलबाट आम्दानी भने भित्र्याइरहेका छन् । 

 


सुन्तला गाउँका रूपमा परिचय कमाएको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाका किसानलाई यतिबेला सुन्तलाको फसल लिन भ्याई–नभ्याई छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसान बताउँछन् । 

 

सुन्तलाको गुणसमेत चिसो भएकाले बगानमा पुग्ने जोकोहीले किसानलाई गर्मी मौसमका लागि  राख्न सुझाउँछन् । अहिले बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको सुन्तला २ महिना मात्रै सुरक्षित राख्न सके चैत–वैशाखको समय ३ गुणा बढी मूल्य पर्ने स्थानीय किसान अशोक थापा सुनाउँछन् ।

 

 
सुझाव आएसँगै पछिल्लो पटक गणेश व्यावसायिक कृषि सहकारीले किसानलाई शीतभण्डार बनाउन सहयोग गरेको छ । २ वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शीतभण्डार निर्माणका लागि ३० लाख रुपैयाँ अनुदान दिएको थियो । 

 

सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भएको छ । यसले धेरै थोरै भए पनि सघाएको स्थानीय किसान सुरेन्द्र खड्काले बताए ।


किसानले समस्या बताएपछि बागलुङ नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रबन्ध गर्न थालेको छ । ६ लाख रुपैयाँ खर्चेर जेनेरेटरको व्यवस्था गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।


चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायतका स्थानमा गर्मी समय बिक्री हुने गरेको छ । गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बेचेरै २ करोड भित्र्याएका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो वर्ष उत्पादनमा कमी आएकाले चिस्यान केन्द्रमार्फत महँगोमा बेच्ने दाउमा उनीहरू छन् ।