close

विकास निर्माणमा फड्को मार्दै बिर्तामोड

विकास निर्माणमा फड्को मार्दै बिर्तामोड

Trulli
ADVERTISEMENT

झापा- झापाको मुटु मानिने बिर्तामोडमा पछिल्लो समय विकास निर्माणले गति लिन थालेको छ । नेपालको पूर्वी द्वार तथा प्रमुख व्यापारिक केन्द्र र सहरीकरणतर्फ उन्मुख हुँदै गइरहेको नगरका रूपमा बिर्तामोड परिचित छ । 

 

बिर्तामोड नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछिको हालसम्मको अवधिमा सोचेभन्दा दोब्बर काम गरेको बताएको छ । यही गतिले काम भए आउँदो १५ वर्षमा बिर्तामोडलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने सोच पूरा हुने जनप्रतिनिधिको दाबी छ । 

 

प्रदेश र केन्द्र सरकारबाट सहयोग भएकाले पनि विकास निर्माणले गति लिएको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले भने, ‘नगरपालिकामा विश्व बैंक प्रवेश गरिसकेको छ र सघन सहरी कार्यक्रमसमेत लागू भएकाले बिर्तामोडको मुहार फेरिन पर्खिनुपर्ने समय अब धेरै टाढा छैन ।’

 

मुख्य समस्याको रुपमा देखिएको अन्दुवा खोलाको समस्यासमेत केही हदसम्म समाधान भइसकेको दाबी गरे । उनले भने, ‘अन्दुवा खोलालाई व्यवस्थित गर्न करिब १ सय करोडको योजना आवश्यक छ । त्यसका लागि नगरपालिकाले केन्द्र सरकारसमक्ष बजेट माग्ने प्रक्रिया सुरु गरिसकेको छ ।’ डुबान रोक्न नगरपालिकाको पहलमा ५० किलोमिटर ड्रेन निर्माण भइसकेको छ ।

 

कृषि क्षेत्रमा भएका विकास


नगरपालिकाले विषादीरहित कृषि उत्पादनमा प्रोत्साहन गरिरहेको छ । विषादीमुक्त नगरको परिकल्पनाका साथ जनप्रतिनिधिले काम गरिरहेको नगरप्रमुख शिवाकोटी बताउँछन् । 

 

६५ देखि ८० प्रतिशत विषादीको प्रयोग हुने यो नगरमा न्यूनीकरण अभियान चलाएपछि ४ प्रतिशतमा झरेको नगरको दाबी छ । यसका लागि नगरपालिकाले अन्य स्थानिय तहको तुलनामा कृषि क्षेत्रमा बढी बजेट बिनियोजन गरेको नगरप्रमुख शिवाकोटीले बताए ।

 

यसबाट किसानलाई अर्गानिक विषादी निर्माण, गड्यौले मल, बेर्ना उत्पादनलगायत तालिम दिइएको उनले सुनाए । नगरप्रमुख शिवाकोटीले भने, ‘नगरको गरिबी न्यूनीकरण गर्न कृषिलाई नै मूल आधार मानेका छौँ ।’


नगरले बेरोजगारी न्यूनीकरण र युवालाई कृषिमा प्रेरित गर्न विभिन्न योजना बनाएर काम गरिरहेको छ । नगरले व्यावसायिक तरकारी, आलु, तोरी, फापर, राजमा, गहुँलगायत खेतीलाई प्राथमिकता दिएको छ । 

 

८६ बिघामा आलु, ३ सय ८ बिघामा तोरी, ४२ बिघामा फापर उत्पादक कृषकलाई अनुदान उपलब्ध गराइएको छ । ७८ जना कृषकलाई अनुदान उपलब्ध गराएर व्यावसायिक तरकारी उत्पादन सुरु भइसकेको छ । यसअन्तर्गत २६ बिघामा कृषकले तरकारी खेती गर्दै आएका छन् । 

 

नगरले कृषकका लागि मकै छोडाउने मेसिन, खेत जोत्ने पावर ट्रिलर, घाँस काट्ने मेसिन, तरकारी उत्पादनका लागि टनेल, भकारो सुधारलगायतलाई आवश्यक सामग्री वितरण गरेको छ । सिँचाइका लागि बोरिङ, गोबर ग्यासलगायतका सामान वितरणमा समेत नगरपालिका लागिपरेको नगरप्रमुख शिवाकोटीले बताए ।

 

नगरभरिका ३ सय ६० जना विपन्न किसानका लागि १ सय ८० वटा बंगुरका पाठा र १ सय ८० वटा बाख्रासमेत नगरपालिकाले वितरण गरेको छ । उत्पादनपछि १-१ वटा पाठापाठी फिर्ता गर्ने र त्यो अरू किसानलाई वितरण गर्ने नगरको योजना छ । 

 

पशुपक्षी तथा मत्स्य विकास शाखाबाट ६ सय ७९ जना कृषक लाभान्वित भएका छन् । नगर कार्यपालिका बैठकले बिर्तामोडभित्र विषादी प्रयोग गरेका माछा बिक्री बन्द गरेको छ । साथै, नगरपालिकामा अर्गानिक माछा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।

 

नगरले मासु पसल सुधार कार्यक्रमअन्तर्गत २० वटा मासु पसल सुधारसमेत गरेको छ । 

 

शिक्षा क्षेत्रमा भएका काम


बिर्तामोड नगरपालिकाले नगरभरिका सामुदायिक विद्यालयमा आचरण शिक्षा लागू गरिसकेको छ । कक्षा १ देखि ८ सम्म लागू गर्ने लक्ष्यका साथ सुरु भएको काम आगामी शैक्षिक सत्रबाट पूरा हुनेछ ।

 

हालसम्म नगरपालिकाले कक्षा १ देखि ६ सम्म आचरण शिक्षाको पुस्तक लागू गरेको छ भने अर्को वर्षबाट ८ कक्षासम्म लागू हुने नगरपालिकाले जानकारी दिएको छ । आचरण शिक्षाको पुस्तकमा घरपरिवारमा गर्ने व्यवहार, सार्वजनिक क्षेत्रमा हुने र गर्नुपर्ने व्यवहारलाई परिकल्पनास्वरूप पाठ्यपुस्तकमा समावेश गरिएको नगरप्रमुख शिवाकोटीले बताए ।

 

त्यस्तै, नगरपालिकाभरिका ८० प्रतिशत विद्यालयमा भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । नगरप्रमुख शिवाकोटीले भने, ‘भौतिक संरचना निर्माणको ८० प्रतिशत काम सकिएसँगै सबै विद्यालयमा बाल शिक्षाका लागि उचित बस्ने व्यवस्था र शुद्ध पिउने पानीको व्यवस्था गरिसकिएको छ ।’

 

१० वटै वडामा स्वास्थ्यको पहुँच

 

बिर्तामोडले १० वटै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ । सहरी स्वास्थ्य केन्द्र स्थापना गरेसँगै सरकारले उपलब्ध गराएका औषधी र सुगर प्रेसरको निःशुल्क जाँचको व्यवस्था मिलाएर सेवा प्रवाह गर्दै आएको छ । 

 

नगरभित्रका अतिविपन्न १ हजार जना नागरिकको स्वास्थ्य बिमा गरिदिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए । नगरभित्रका नागरिकलाई बाहिरका अस्पतालमा उपचार गराउन जानुपर्ने समस्या हटाउन नगर अस्पतालको रूपमा डायलायसिससहितको २५ बेडको अस्पतालसमेत निर्माण गरेको छ । 

 

गर्भमा रहँदादेखि वृद्ध हुन्जेल नगरले स्वास्थ्य सेवा दिने उद्देश्यले क्याल्सियम चक्की वितरणको कामसमेत गरिरहेको नगरप्रमुख शिवाकोटीले बताए । कोभिड- १९ का बेला नगरपालिकाका जनप्रतिनिधिको सक्रियतामा राहत वितरणदेखि लिएर क्वारेन्टाइन व्यवस्थापनमा काम भएको शिवाकोटीको दाबी छ ।


पूर्वाधार निर्माण 


हालसम्म बिर्तामोडले १ सय किलोमिटर सडक कालोपत्रे सम्पन्न गरिसकेको छ । नगरप्रमुख शिवाकोटीले भने, ‘५० किलोमिटरको लक्ष्य थियो तर योजनाभन्दा दोब्बर काम भएको छ ।’

 

नगरपालिकाले ८४ वटा कल्भर्ट निर्माण गरेको छ । नगरपालिकाले ५ सय विपन्न नागरिकलाई सुरक्षित आवास कार्यक्रममा समावेश गराउने लक्ष्य राखेबमोजिम ३ सय ५० वटा घर नागरिकलाई हस्तान्तरण गरिसकेको जनाएको छ । 

 

बाँकी रहेका १ सय ५० वटा घर आगामी आर्थिक वर्षमा सम्पन्न हुने शिवाकोटीले जानकारी दिए । नगरप्रमुख शिवाकोटीले भने, ‘हाम्रो कार्यकालमा कोही नागरिक घरविहीन हुनुपर्ने छैन । हामी त्यहीअनुरूप काम गरिरहेका छौँ ।’