close

अब वडाले नै दिन्छ टनेल, घर-घरमा फल्छ तरकारी

अब वडाले नै दिन्छ टनेल, घर-घरमा फल्छ तरकारी

Trulli
ADVERTISEMENT

बागलुङ- बाग्लुङको बलेवामा समथर जग्गा भएर पनि हिउँदे खेतीका लागि सिँचाइको सुविधा छैन । वर्षायाममा हराभरा देखिने यहाँका फाँट हिउँदको समय उराठलाग्दा देखिन्छन् ।


बागलुङ नगरपालिका वडा नम्बर १३ को पैँयुपाटामा पर्ने बलेवा क्षेत्रकै सबैभन्दा ठूलो दम्कको फाँट छ । यो फाँट अहिले पनि बाँझो छ । वर्षाको समय भेलको पानीले धान खेती हुने फाँट हिउँदमा सिँचाइ अभावले बाँझै रहन्छ । 

 

दम्कको फाँटजस्तै बलेवा क्षेत्रमा पर्ने अमलाचौर, पैँयुपाटा र नारायणस्थानका कैयौँ फाँटहरूमा सिँचाइ सुविधा छैन ।


छेउछाउका स-साना खहरेमा बग्ने पानीको सदुपयोग गरेर यहाँका किसानले पारिवारिक प्रयोजनका लागि हिउँदे तरकारी उत्पादन गर्छन् तर व्यावसायिक खेतीका लागि समस्या छ ।

 

पछिल्लो समय बलेवाको पैँयुपाटाका किसानले सिँचाइको विकल्प खोजेर व्यावसायिक तरकारी खेती गर्न थालेका छन् ।


पैँयुपाटाका अधिकांश घरमा खानेपानीका एक घर एक धारा पुगेका छन् । खानेपानीका लागि पुगेका धाराबाट आउने पानीको सदुपयोग गरेर बाँझो जमिन हराभरा बनाउन थालेको पैँयुपाटा बडहरेकी व्यावसायिक किसान यमुना ढकालले बताइन् ।

 

यहाँका किसानले करेसाबारीलाई नै व्यावसायिक तरकारी उत्पादन गर्ने थलो बनाउन थालेका हुन् । ‘धारामा आउने पानी जम्मा गरेर तरकारी उत्पादन गरिएको छ,’ ढकालले भनिन्, ‘यहाँ फलेको तरकारी गाउँमै बिक्री हुन्छ ।’


अहिले पनि गाडीभरि तरकारी बोकेर पैँयुपाटा पुग्ने व्यापारी बिहान पुगे साँझ खाली गाडी लिएर बागलुङ बजार फर्किन्छन् । बाहिरी बजारबाट आउने तरकारीको विस्थापनका लागि मात्रै पैँयुपाटामा तरकारी खेती अभियान चलाइएको छ । 


‘यो वर्ष १ लाख ३० हजारका टनेल बाँडेर तरकारी खेतीमा आकर्षित गर्ने कार्यक्रम थियो,’ वडाध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘सोचेभन्दा धेरै माग आयो । धान्नै सकिएन ।’


वडा कार्यालयले टनेल तयार गरेर मात्रै माग लिएर आउन भनेको थियो । १ देखि १५ माघसम्मको समयसीमा दिइएकामा वडाभरि १ सय १७ वटा टनेल बनेका छन् । 

 

‘धाराकै पानीका भरमा तरकारी खेती गर्न इच्छुक धेरै देखिए । चरणबद्ध सहयोग गरेका छौँ,’ पौडेलले भने, ‘वडाको स्रोतले नपुगे अन्यत्र मागेर भए पनि किसानलाई व्यवसायसँग जोड्छौँ ।’ 


चालू आर्थिक वर्षमा अदुवा-बेसार कार्यक्रमका लागि छुट्याइएको बजेटसमेत टनेल खरिदमा लगाउँदा ५८ वटा टनेल किसानले पाएका छन् । अझै ५९ वटा टनेल किसानका लागि आवश्यक भएको उनले सुनाए ।


‘किनेर खाएको तरकारीले स्थानीय आजित भएको पाएँ । अब आफंै फलाउने र बढी भए बिक्री गर्ने सोचमा उनीहरू छन्,’ पौडेलले भने, ‘यो वडाका लागि सानो तर लामो समय प्रभाव राख्ने कार्यक्रम हो ।’ 

 

वडाबाट बेसिजनमा तरकारीका लागि बाहिरिने पैसा मात्रै रोक्न सकिए ठूलो उपलब्धि हुने उनले सुनाए । खानेपानीका लागि भनेर मिटरमा आउने पानीसमेत निर्धक्क किसानले करेसामा लगाउँछन् ।

 

वडा कार्यालयको साथ पाएपछि किसान आफ्नै करेसामा तरकारी फलाउने अभियानमा लागेको वडा सदस्य भवानीप्रसाद रिजालले बताए ।