close

युवालक्षित कृषि र पशुपालन सुरु  

युवालक्षित कृषि र पशुपालन सुरु  

Trulli
ADVERTISEMENT

पाल्पा - कोरोनाले विदेशमा रोजगारी गुमाएर पाल्पा फर्किएका युवाहरूलाई लक्षित गरेर जिल्लाका स्थानीय सरकारले कृषि र पशुपालन कार्यक्रम ल्याएका छन् ।

पाल्पाका १० स्थानीय सरकारले विदेशको रोजगारी गुमाएर फर्किएका करिब ३ हजार जनालाई लक्षित कार्यक्रम ल्याएका हुन् । स्वदेश फर्किएकामध्ये भारतबाट ९० प्रतिशत र तेस्रो मुलुकबाट १० प्रतिशत रहेका छन् । तथ्यांक संकलन गरेर गर्न चाहेको काम, पेसा र योग्यता पहिचान गरेका छन् । रिब्दीकोट गाउँपालिकाले युवा रोजगारअन्तर्गत कृषि र पशुपालनमा ४ करोड ५७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । 


व्यवसाय सञ्चालन भएपछि कृषि बाली र पशुहरूको निःशुल्क बिमा योजना छ । गाउँपालिकाले कृषि पेसालाई व्यावसायिक बनाउन आधुनिक कृषियन्त्रको प्रयोगमा जोड, उत्पादित वस्तु ढुवानी, संकलन केन्द्र र बिक्री केन्द्रको व्यवस्थाजस्ता कार्यक्रम तय गरेका छन् ।  यस्तै, उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरी रोजगारी बढाउने कार्यक्रम रहेको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।


तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले युवाहरूलाई बिनाधितो सहुलियत ब्याजदरमा कर्जा दिन थालेका छन् । कर्जा लिन उनीहरूले चाहेको कामको विस्तृत योजना विवरणसहित निवेदन माग गरिएको छ । पालिकाहरूले १० लाख रुपैयॉसम्म बिनाधितो ऋण लिन सक्ने व्यवस्था मिलाएका हुन् । उद्यम सञ्चालन गर्न चाहने युवालाई व्यवसायसम्बन्धी तालिम दिने व्यवस्था गरिएको छ ।


रम्भा गाउँपालिकाले यस वर्ष कम्तीमा ३ सय युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।  विदेशबाट फर्किएर गाउँमै बस्ने अवस्था आएपछि जमिन नभएकाहरूलाई जमिन उपलब्ध हुने र खेती गर्न वातावरण मिलाउन स्थानीय सरकार लागेका छन् ।


२ वर्षदेखि बाँझो रहेको जमिनमा खेती गर्ने कृषकका लागि प्रतिरोपनी ५ हजारसम्म अनुदान दिने व्यवस्था छ ।