close

उपाध्यक्षको गुनासोः वडाध्यक्षले वडा चलाउँछन्, अध्यक्षले पालिका, मलाई चाहिँ के ? 

उपाध्यक्षको गुनासोः वडाध्यक्षले वडा चलाउँछन्, अध्यक्षले पालिका, मलाई चाहिँ के ? 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले पुरुष जनप्रतिनिधिले महिलाको समस्या बुझ्न नसकेको गुनासो गरेकी छन् ।

 

पालिकाभित्र उपाध्यक्षलाई गाउँपालिकाले न्यायिक समितिको जिम्मेवारी मात्र दिएकाले सबैको झैझगडामा अल्झिएर ३ वर्ष बितेको उनको बुझाइ छ ।

 

उपाध्यक्ष कलवारले भनिन्, ‘वडाध्यक्षले वडाको विकास निर्माणको बजेट चलाउँछन्, गाउँपालिका अध्यक्षले पालिकाको विकास निर्माणको बजेट चलाउँछन् । तर, उपाध्यक्षलाई चुनावी वाचा पूरा गर्न कुनै बजेट दिइएको छैन ।’

 
वैष्णोमाता स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध १ सय ८३ जना महिलालाई निजी लगानीमा कम्बल वितरण गर्दै उपाध्यक्ष कलवारले गुनासाका भारी बिसाएकी हुन् ।

 

उनले भनिन्, ‘गाउँपालिका विकास निर्माणमै अल्झिएपछि महिलाको समस्याप्रति कसैको ध्यान पुग्न सकेको छैन । महिला जनप्रतिनिधि भएकाले उनीहरूका समस्या बुझेरै व्यक्ति लगानी खर्चिएर कम्बल वितरण गरेकी हुँ ।’


उपाध्यक्ष कलवारले सबै महिलालाई सहकारीमा आबद्ध हुन तथा विभिन्न सभा, सेमिनार तथा गोष्ठीमा सहभागिता जनाउन आग्रह गरिन् । यसो गर्न सके महिलाले घरायसीसँगै सामाजिक गतिविधिमा पनि रुचि देखाउन सक्ने उनको बुझाइ छ ।

 

कार्यक्रमका आयोजक समाजसेवी शंकर जयसवालले समाजसेवा गर्न कुनै बजेट कुर्नु नपर्ने बताए । उनले भने, ‘श्रीमती मर्चवारीको उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भएकाले गाउँपालिकाभित्र हुने विभिन्न झैझगडा र समस्या हल गर्दै आएकी छन् । तर, विकास निर्माणमा हातेमालो गर्न गाउँपालिका अध्यक्षले उपेक्षित गरेका छन् ।’

 

कार्यक्रममा वैष्णोमाता स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामरक्षा मौर्यले संस्थामा आबद्ध सबै महिलालाई कम्बल वितरण गरेकामा अयोजकलाई धन्यवाद दिए ।