close

गुणस्तरहीन सामग्री बेच्नेलाई ५ हजार जरिमाना

गुणस्तरहीन सामग्री बेच्नेलाई ५ हजार जरिमाना

Trulli
ADVERTISEMENT


डडेल्धुरा- जिल्ला अदालत डडेल्धुराले गुणस्तरहीन सामग्री बेच्नेलाई ५ हजार रुपैयाँ जरिमानाको फैसला गरेको छ । अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारको निर्मला खुद्रा किराना पसललाई गुणस्तरहीन चनाको दाल बिक्री वितरण गरेकामा ५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाइएको हो ।


सोमबार जिल्ला अदातल डडेल्धुराका न्यायाधीश हरिप्रसाद शर्मा पंगेनीको इजलासले विपक्षी निर्मला खुद्रा किराना पसलकी प्रोप्राइटर निर्मला ठकुराठीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको हो ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले खाद्य पदार्थमा स्वच्छता कायम गरी सर्वसाधारण नागरिकको हित कायम गर्ने उद्देश्यले गुणस्तरहीन र कमसल खाद्य पदार्थ बिक्री वितरण गर्ने डडेल्धुरा सदरमुकामका ५ जना व्यवसायीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


निर्मला खुद्रा किराना पसललाई गुणस्तरहीन चनाको दाल बिक्री वितरण गरेको अभियोगमा ७ माघमा मुद्दा दायर गरेको हो । बागबजारकै मदन प्रकाश किराना पसललाई गुणस्तरहीन गहत गेडा बिक्री गरेकामा, सदरमुकाम बगरकोट रोडस्थित भागेश्वर स्टोरलाई गुणस्तरहीन खाद्य पदार्थ धनियाँ गेडा बिक्री गरेकामा, खलंगास्थित रावल किराना पसललाई गुणस्तरहीन चामल बिक्री गरेको पुष्टि भएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

 

यस्तै, बागबजारस्थित ओमबाबा स्टोरलाई गुणस्तरहीन खाद्य पदार्थ मटर गेडा बिक्री गरेकामा ८ माघमा डडेल्धुरा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।


अन्य ४ जना व्यवसायीको मुद्दा विचाराधीन रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेल्धुराले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालय डडेल्धुराको निर्णयअनुसार मुद्दा दायर गरेको कार्यालय प्रमुख गणेशदत्त जोशीले जानकारी दिए ।

 

खाद्य ऐनमा दूषित वा न्युन गुणस्तरको खाद्यपदार्थ बिक्री वितरण गरे वा ढाँटी वा झुक्याएर कमसल खाद्यपदार्थ बिक्री वितरण गर्नेलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।