close

रावाबेँसीका महिला वडा सदस्यलाई नेतृत्व विकास तालिम 

रावाबेँसीका महिला वडा सदस्यलाई नेतृत्व विकास तालिम 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकाका महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यलाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । 

 

स्थानीय तहमा निर्वाचित महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धिका महिला नेतृत्व विकाससम्बन्धी ३ दिने तालिम दिइएको हो ।

 

वडामा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न-गराउन सक्षम बनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रारम्भिक प्रशिक्षण मोड्युल-१ महिला नेतृत्व विकाससम्बन्धी तालिम सोमबार सम्पन्न भएको हो । 

 

स्वीस सरकार विकास नियोग र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा सञ्चालन गरेको नेतृत्व विकास तालिममा गाउँपालिकाका ६ वडाका १० महिला जनप्रतिनिधि र दलित महिला जनप्रतिनिधि सहभागी थिए । 

 

महिला वडा सदस्य एवं दलित महिला वडा सदस्यको आत्मविश्वास बढाएर राजनीतिक संवादमा सहभागी हुने वातावरण सिर्जना गर्न एवं स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिबीच एकआपसमा अनुभव आदान-प्रदान गर्दै सहयोगी सञ्जाल निर्माण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

 

दुर्गाजयन्ती राई र देवेन्द्रकुमार राईले सहजीकरण गरेको तालिममा सहभागी महिला वडा सदस्यले आफ्नो राजनीतिक जीवनमा अघि बढ्न यस्ता तालिमले सहयोग पुग्ने बताए ।

 

तालिममा सहभागी रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलकी वडा सदस्य लक्ष्मीदेवी पाण्डेले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समाजलाई सफल नेतृत्व प्रदान गर्ने बताइन् ।

 

‘तालिम प्रभावकारी भएको छ । यसले हामीलाई केही गर्ने आँट र साहस दिएको छ,’ वडा सदस्य पाण्डेले भनिन्, ‘यस्तो तालिम वडासमितिमा निर्वाचित भएलगत्तै दिइएको भए हाम्रो क्षमता विकासका सहयोगी हुने थियो । जति जानेका छौँ त्यसलाई व्यवहारमा उतार्ने कोसिस गर्नेछौँ ।’

 

तालिम रावाबेशी गाउँपालिका वडा नम्बर १ कुभिन्डेका वडाध्यक्ष लीलानारायण श्रेष्ठले उद्घाटन गरेका थिए । 

 

दलित महिला केन्द्र नेपालले यसअघि हलेसी तुवाचुङ नगरपालिकामा तालिम सञ्चालन गरिसकेको छ । केही समयपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सोही किसिमको कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिए ।