close

नमोबुद्धका किसानले पाए कृषि सामग्री

नमोबुद्धका किसानले पाए कृषि सामग्री

Trulli
ADVERTISEMENT

काभ्रे- नगरभित्र कृषि क्षेत्रको विकास गरेर यसलाई थप उत्पादनमुखी बनाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाका अगुवा कृषकका लागि १ दिने तालिम एवं कृषि सामग्री वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

 

नगरपालिकाका अगुवा कृषकका लागि तरकारी बालीमा बाली उत्पादनोपरान्त (पोस्टहार्भेस्ट) हुने क्षति न्यूनीकरण र बजार व्यवस्थापनबारे तालिम दिइएको हो ।

 

तालिममा नगरपालिकाका विभिन्न वडाका कृषक समूह र कृषि फार्मबाट २५ जना कृषक प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीलाई कृषि विकास शाखा प्रमुख रेशमबहादुर दाहालसहित कृषि शाखामा कार्यरत शारदा तिमल्सिना र मनिता तामाङले प्रशिक्षण दिएका थिए । 


तालिम समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले निर्वाचित भएदेखि नै कृषि क्षेत्रमा नमोबुद्धलाई अगाड बढाउन विभिन्न योजना तयार पार्दै कार्यान्वयनमा गएको बताए । 

 

कृषि क्षेत्रको विकासका लागि कार्यविधि तयार पारिएको र चाँडै कार्यान्वयनमा आउने उनको भनाइ छ । शून्यको अवस्थाबाट कृषि क्षेत्रका लागि बर्सेनि बजेटमा वृद्धि गरिएको जानकारी दिँदै उनले अझै कृषि क्षेत्रमा जनशक्ति अभाव झेल्नु परेको बताए । 

 

‘विभिन्न संघ-संस्थाको सहयोगमा कृषि नलेज पार्क स्थापना, बेमौसमी तरकारी खेती तथा बिउ उत्पादनमा जोड दिएका छौँ’, नगरप्रमुख तिमल्सिनाले भने, ‘अब खेती प्रणालीलाई व्यावसायिक बनाउन युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्छ ।’ 

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधि प्रयोग नगरेसम्म कृषक सधैँ कमजोर हुने भन्दै अब परम्परागत र निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिकीकरणतर्फ जानुपर्ने बेला आएको औँल्याए ।

 

प्रविधि प्रयोगले उत्पादन बढाउन सकिने र त्यसले कृषकको आयस्तरसमेत बढ्ने उनको भनाइ छ । गुणस्तरीय उत्पादनका साथै बढीभन्दा बढी बजारीकरणमा जोड दिन पौडेलले किसानलाई सुझाए । 

 

वडा नम्बर ९ का वडाध्यक्ष एवं नगरपालिकाको कृषि समिति संयोजक मेलबहादुर लामाले नगरले कृषकको हकहितका लागि काम गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने बताए । कृषि क्षेत्रमा आधुनिकीकरणमा जोड दिनुपर्ने भन्दै उनले अनुदानमा दिइने सामग्रीको उचित प्रयोग गर्न कृषकलाई आग्रह गरे । 

 

सो अवसरमा अगुवा कृषकका लागि थोपा सिँचाइ सेट, प्लास्टिक पोखरी र टनेल खेतीका लागि प्लास्टिक सेट एवं बेमौसमी तरकारीका बिउ वितरण गरिएको थियो । 

 

प्लास्टिक पोखरी २५ थान, प्लास्टिक टनेल २२ थान, थोपा सिँचाइ सेट १५ तथा तथा आवश्यक तरकारीका बिउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख रेशमबहादुर दाहालले जानकारी दिए ।

 

कार्यक्रम नमोबुद्ध नगरपालिका कृषि विकास शाखाको आयोजना तथा फलफूल तथा तरकारी मूल्य शृंखला विकास आयोजनाको सहयोगमा सम्पन्न भएको हो ।