close

भक्तपुरको कमलपोखरी व्यक्तिको नाममा सुटुक्क दर्ता

भक्तपुरको कमलपोखरी व्यक्तिको नाममा सुटुक्क दर्ता

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ नेतृत्वमा स्थानीयले बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाबाट जोगाउन माग गर्दै प्रदर्शन गरेका छन् ।

 

जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीयले पुनरावेदन अदालतमा कमलपोखरी जोगाउन माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

 

सार्वजनिक रूपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको उक्त कमलपोखरीको गैरकानुनी रूपमा किनबेच भई व्यक्तिको नाममा दर्ता भएपछि नगरप्रमुखको नेतृत्वमा स्थानीयले प्रदर्शनी गरेका हुन् ।


तत्कालीन बोडे गाउँ पञ्चायत वडा नम्बर ६ कित्ता नम्बर १ को पोखरीले ओगटेको १५ रोपनी ९ आना सार्वजनिक जग्गा ३१ असार २०४२ मा कान्छी पोडेनीको नाममा दर्ता भएको हो । २२ माघ २०५१ मा अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौंको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको छ ।


१३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पेनीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ ।


सार्वजनिक पोखरीलाई व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिलाई बिक्री गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।


बोडे, नगदेशका बासिन्दाले संघर्ष समिति नै गठन गरेर व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रूपमा फर्काउन माग गर्दै दायर रिटको भक्तपुर जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले १९ असार २०७५ मा ‘पलेस्वाँ पुखु’ सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो ।


भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा थिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका हुन् ।


नगरप्रमुख श्रेष्ठले बाल्यकालमा सोही पोखरीमा कमलको फूल टिप्ने गरेको स्मरण गर्दै भने, ‘भक्तपुर जिल्ला अदालतले सार्वजनिक पोखरी नै रहने फैसला गरेलगत्तै मध्यपुर थिमि नगरपालिकाले पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटन गन्तव्य स्थलका रूपमा विकास गर्ने लक्ष्यले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरिसकेको छ ।’


फैसला भएको भोलिपल्टै मध्यपुर थिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सम्याउने र सफा गरेको थियो । पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने गरी गुरुयोजनासहित संरक्षण कार्य सञ्चालन भइरहेको छ ।


बोडेको कमलपोखरीमा फुलेको फूल स्थानीय लायकु दरबारमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौँ वर्षदेखि रहेको वडा नम्बर ९ का वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए ।