close

कटारी उपप्रमुख राउतको फराकिलो मन, गाडी सुविधाको रकम एम्बुलेन्स खरिदमा

कटारी उपप्रमुख राउतको फराकिलो मन, गाडी सुविधाको रकम एम्बुलेन्स खरिदमा

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले गाडी सुविधाको रकमबाट जनताका लागि एम्बुलेन्स खरिद गरेकी छन् ।

 

जनप्रतिनिधि सुविधाभोगी बन्दै महँगा गाडी र विलासी जीवन बिताउँदै आएको गुनासो बढिरहेका बेला कटारी नगर उपप्रमुख राउतले आफ्ना लागि गाडी किन्न विनियोजित रकमबाट नगरबासीका निम्ति एम्बुलेन्स खरिद गरेका हुन् । 

 

उनले सुविधाका लागि गाडी खरिद गर्न नगर परिषद्ले विनियोजन गरेको पैसाले एम्बुलेन्स खरिद गरेकी हुन् । बिरामी, महिला, बालबालिका तथा विपन्नलाई अस्पताल लैजान सवारी नपाउँदा कतिपयले अकालमै ज्यान गुमाउनु परेकाले एम्बुलेन्स खरिदमा खर्च गरेको उनले सुनाइन् ।

 

‘एम्बुलेन्स नगरपालिका आइपुगेको छ,’ राउतले भनिन्, ‘हस्तान्तरण गर्न बाँकी छ । मेरा लागि गाडी किन्ने पैसाले यो एम्बुलेन्स किनिएको हो ।’

 

उनका अनुसार कार्यपालिकाले नगर सभामार्फत उपप्रमुखको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । उनले भनिन्, ‘जनताको करबाट विलासी सुविधा नलिने घोषण गरेरै एम्बुलेन्स किनेँ ।’

 

जनता गरिबीमा बाँचिरहेका र गरिबीकै कारण घरमै सुत्केरी हुने अवस्था रहेकाले जनप्रतिनिधिले लाखौँ रुपैयाँ मोल पर्ने गाडी चढ्ने अवस्था नभएको उनको बुझाइ छ । 

 

नगरपालिकाले जनप्रतिनिधि आउनुअघि नै किनेको बोलेरो दिएको थियो । बोलेरो पुरानो भएको र बेलाबेला बिग्रने गरेकाले यस वर्ष नयाँ गाडी खरिद गर्ने निर्णय नगर परिषद्ले गरेको थियो ।