close

भागरथीको हत्यामा संलग्नलाई कारबाही माग्दै सडकमा निस्किए विद्यार्थी 

भागरथीको हत्यामा संलग्नलाई कारबाही माग्दै सडकमा निस्किए विद्यार्थी 

Trulli
ADVERTISEMENT

डडेल्धुरा- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही माग गर्दै डडेल्धुरास्थित क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

विद्यालयका कानुन संकायका विद्यार्थीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । घटनालाई तोडमोड, ढाकछोप गरेर दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्र बुझाउनुअघि विद्यार्थीहरूले क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कुलदेखि तुफान्डाँडा हुँदै बसपार्क र बसपार्कदेखि चारपोल हुँदै जिल्ला प्रशासन कार्यालयसम्म बलात्कारीलाई सजाय माग गर्दै नाराबाजी गरेका थिए । 

 

आन्दोलनमा सहभागी विद्यार्थीले दिदीबहिनीको विशेष सुरक्षा योजनासहित बलात्कारीलाई तत्काल कठघरामा उभ्याएर फासी दिनुपर्नेसहितको नारा लगाए । 

 

बालिका र किशोरीमाथि बढिरहेको बलात्कारका घटनामाथि सरकारको ध्यानाकर्षण गर्न र भट्टका अपराधीलाई पक्राउ गरी कारवाही गर्न उनीहरूले जिल्ला सदरमुकाममा र्‍याली निकालेका हुन् । 

 


प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘भागरथीलाई न्याय चाहियो, हत्यारालाई कारबाही गर, किशोरीलाई बाँच्न देऊ, महिला सुरक्षा कायम गरलगायतका प्लेकार्ड बोकेका थिए ।

 

दोगडाकेदारको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको २१ माघमा बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो । 

 

भट्टको बलात्कारपछि हत्या भएको एक साताा पुगे पनि अहिलेसम्म उक्त घटनामा संलग्न पत्ता लाग्न सकेको छैन। सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदी ५ दिनदेखि बैतडीमै छन् । 

 

भागरथी हत्या प्रकरणको अनुसन्धानमा स्वयं डीआईजी सुवेदी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् भने उनलाई सघाउन प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाखुको टोली खटिएको छ । 

 

अनुसन्धानलाई सघाउन थप प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।