close

जिल्ला अस्पतालमा गैरकानुनी नियुक्ति

फार्मेसी परिषद्‍बाट आवद्धता नै नलिएका आवेदकलाई फार्मेसी अधिकृतको जागिर 

जिल्ला अस्पतालमा गैरकानुनी नियुक्ति

फार्मेसी परिषद्‍बाट आवद्धता नै नलिएका आवेदकलाई फार्मेसी अधिकृतको जागिर 

Trulli
ADVERTISEMENT

रूपन्देही- जिल्ला अस्पताल कपिलवस्तुममा ऐन मिचेर फार्मेसी अधिकृत भर्ना गरिएकोे छ । नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को व्यवस्थाविपरीत ब्याचलर इन फार्मेसी गरी नेपाल फार्मेसी परिषद्‍बाट आवद्धता नै नलिएका आवेदकलाई फार्मेसी अधिकृत पदमा नियुक्त गरिएको हो ।

 

फार्मेसी अधिकृत पदमा चयन भएका सुनील पाठकले ३० माघ बिहीबार नेपाल फार्मेसी परिषद्मा १६औं नाम दर्ता परीक्षामा सहभागी भई ब्याचलर इन फार्मेसीको आवद्धताका लागि परीक्षा दिँदै छन् । कपिलवस्तु अस्पतालले ५ मंसिर २०७७ मा सूचना जारी गर्दै विभिन्न १४ पदका लागि करारमा कर्मचारी आवश्यकताको सूचना प्रकाशन गरेको थियो । 


पत्रिकामा प्रकाशित सूचनाको विज्ञापन नम्बर ०९०७७/०७८ मा १ जना फार्मेसी अधिकृत पद (सातौँ तह) का कर्मचारी माग गरिएको थियो । माग गरिएको फार्मेसी अधिकृतको विज्ञापनमा मान्यताप्राप्त संस्थाबाट ब्याचलर इन फार्मेसी उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनैपर्ने उल्लेख थियो ।


अस्पतालको सूचनाका आधारमा फार्मेसी अधिकृत पदमा ८ जनाले दरखास्त दिएका थिए । अस्पतालले दरखास्त दिएकाको ७ पुस २०७७ मा अस्पतालमै लिखित परीक्षा र अन्तर्वार्ता लिएको थियो ।

 

परीक्षामा सहभागी भएका फार्मेसी अधिकृत पदका आवेदकमध्ये सुनीलकुमार पाठक छनोटमा परेका थिए भने वीरेन्द्रप्रसाद गुप्ता प्रथम वैकल्पिक र कामेश्वर यादव दोस्रो वैकल्पिकका रूपमा चयन भएका थिए ।


फार्मेसी अधिकृत पदमा चयन भएका पाठक १६ पुस २०७७ देखि कपिलवस्तु अस्पतालमा हाजिर भएका छन् ।

 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने बजेटमा राखिएका कर्मचारीको नियुक्ति प्रक्रियामा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रतिनिधि, लुम्बिनी प्रादेशिक अस्पतालका विषयविज्ञसँगै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका कर्मचारीको सहभागिता रहेको खुल्न आएको छ ।


आवेदनमा उल्लेख गरिएको योग्यता पूरा भएको भनी नियुक्ति पाएका पाठक नै नेपाल फार्मेसी परिषद्ले ३० माघ बिहीबार गर्न थालेको १६ औँ नाम दर्ता परीक्षामा सहभागी हुँदै छन् ।

 

आवदेनमा फार्मेसी परिषद्मा नाम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराएका उनले सोही प्रमाणपत्र लिन ३० माघको परीक्षामा सरिक भएपछि ऐन मिचेर नियुक्ति प्रक्रिया अघि बढेको देखिएको हो ।


अस्पतालमा नियुक्त भएका उनी अहिले दर्ता परीक्षामा सरिक हुनुले ब्याचलर इन फार्मेसीमा फार्मेसी काउन्सिल आबद्ध नभई किर्ते कागजात बनाएर अस्पतालमा नियुक्त भएको देखिन्छ ।

 

आफूले ब्याचलर इन फार्मेसीको परीक्षा उत्तीर्ण गरी परिषद्मा नाम दर्ता गराए पनि परिषद्मा नाम दर्तै नगराएका व्यक्तिलाई मिलेमतोमा चयन गरिएको फार्मेसी अधिकृत पदका आवेदक पदमराज चौधरीको आरोप छ ।


कपिलवस्तु अस्पतालमा गरिएको कर्मचारी नियुक्तिमा ऐन मिच्नेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का बृजेश भट्टराईले बताए । ‘यसरी अनियमित तरिकाले ऐन मिचेर गरिएको नियुक्तिको सम्बन्धित निकायले यथार्थ छानबिन गर्न आवश्यक छ’, उनले भने ।
 

ऐनले परिषद्मा फार्मेसी व्यवसाय दर्ता नगराई व्यवसाय गर्नसमेत बन्देज गरेको अवस्थामा परिषद्मा दर्ता नभएका व्यक्तिले नेपाल सरकारको फार्मेसी अधिकृत पदमा जागिर खान नमिल्ने नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डे बताउँछन् ।


कसैले ऐनविपरीत कार्य गरेको भए सोको खोजी र कारबाही प्रक्रिया अगाडि बढाइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।