close

बाग्लुङभर २ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे

बाग्लुङभर २ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे

Trulli
ADVERTISEMENT

बागलुङ- गण्डकी प्रदेश सरकारले बागलुङमा ६५ किलोमिटर सडक कालोपत्रेको काम थालेको छ । बहुवर्षे योजनाअन्तर्गत गत आर्थिक वर्षमा सुरु भएर आगामी २ वर्षभित्र काम सक्ने गरी ६ वटा सडक कालोपत्रे गर्न थालिएको हो ।


कुल ६५.४८ किलोमिटर सडक उक्त अवधिमा कालोपत्रे हुनेछ । पूर्वाधार कार्यालय बागलुङले विभिन्न ५ वटा सडकको सम्झौता गरेर काम अघि बढाइसकेको छ । 


बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङका, ताराखोला गाउँपालिकाका विभिन्न सडक योजना कालोपत्रे हुन थालेको कार्यालय प्रमुख शोभियत खड्काले बताए । सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तरस्थानीय तह जोड्ने सडकको कालोपत्रे सुरु भएको हो । 


बागलुङ नगरपालिका वडा नम्बर ४ फेदीदेखि मालिका, कालीमाटी, काठेखोला गाउँपालिकाको भीमपोखरा, धम्जा तंग्राम, लेखानी हुँदै बागलुङ नगरकै तित्याङ, भकुन्डे, भैरवस्थान जोड्ने सडक कालोपत्रे भइरहेको छ ।


२८ असोज २०७६ मा सम्झौता भएको यो सडक कालोपत्रेको १४ किलोमिटर खण्डको काम सिंह किराँतेश्वर काष्ठमाण्डप जेभीले गरिरहेको छ । 


१ वर्षमा ५ किलोमिटरको काम सक्ने लक्ष्य राखिएको यो सडककोे भौतिक प्रगति ९७ प्रतिशत रहेको कार्यालयले बताएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ करोड रुपैयाँको कुल लागत अनुमान गरेको यो सडकको काम २७ करोड ६८ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो ।

 

कोरोना महामारीले काममा प्रभाव परेकाले समयमा सकिने सम्भावना कम रहेको खड्काले बताए । यो सडक कालोपत्रेको काम २७ असोज २०७८ सम्म सम्पन्न गर्नुपर्नेछ ।


जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मीसेरादेखि राङखानी राम्दुक हुँदै बरेङ-शान्तिपुर सडक खण्डमा कालोपत्रेको काम चलिरहेको छ । २८ असोज २०७६ मा सम्झौता भएको यो सडक कालोपत्रेको १० किलोमिटर खण्डको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ ।

 

एक वर्षमा ५ किलोमिटरको काम सक्ने लक्ष्य राखिएको सडककोे भौतिक प्रगति ८० प्रतिशत छ । हालसम्म सडकको काम २४ करोड ४५ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । यो सडक कालोपत्रेको काम सक्ने सम्झौतामा २७ असोज २०७८ सम्म सम्पन्न गर्नुपर्ने उल्लेख छ ।


छिमेकी म्याग्दीको रुम जोड्ने गरी गलकोट नगरपालिकाको हरिचौरदेखि ताराखोला गाउँपालिकाको हिल र म्याग्दीको रुम सडकको मुख्य खण्ड स्तरोन्नतिको काम भइरहेको छ ।


कालोपत्रे योजनाको यो सडक पहिलो चरणमा स्तरोन्नति भइरहेको कार्यालयले जनाएको छ । १०.८९ किलोमिटर सडक एपेक्स, खड्का कृष्ण कम्पनीले कामको जिम्मेवारी लिएको छ । ९० प्रतिशत भौतिक प्रगति देखिएको यो योजना २४ करोड रुपैयाँभन्दा धेरै रकमको हो ।

 

जिल्लाको सुदूरपश्चिम भनेर चिनिने निसीभुजी क्षेत्रमा एउटा मात्रै सडकको काम चलिरहेको छ । ढोरपाटन नगरपालिकाको दुवाडी गाडी खोला, चामीद्वार छ्यान्टुङ हुँदै म्याग्दी जोड्ने १०.३९ किलोमिटर सडक कालोपत्रेको काम चलेको हो ।


गत वर्ष कात्तिकमा सम्झौता भएको यो योजनाको समयावधि आउँदो कात्तिकमा सकिँदै छ । श्रेष्ठ क्याराभान कम्पनीले २५ करोड रुपैयाँमा कामको जिम्मेवारी लिएको यो सडकमा भौतिक प्रगति ९० प्रतिशत रहेको छ ।


जिल्ला सदरमुकामलाई दक्षिणका पालिकाहरूसँग जोड्ने मालढुंगा, पाग्जा, बलेवा एयरपोर्ट, कुश्मीसेरा सडक कालोपत्रेको काम चलिरहेको छ । प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मेवारी लिएको यो सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । 

 

१० किमि खण्डमा धमाधम काम भइरहेको छ । गत आवमा सम्झौता भएका सडकमध्ये यो सडक समयअघि नै काम सक्ने पहिलो बन्नेछ ।


२९ करोड रुपैयाँमा निर्माणको सम्झौता गरेको कम्पनीले ९८ प्रतिशत भौतिक प्रगति देखाएको छ । चैत लागेपछि कालोपत्रे बिच्छाउने तयारीमा रहेको कम्पनीले चैत अन्तिमसम्म सडक हस्तान्तरण गर्ने जनाएको छ ।


ताराखोलाको केन्द्र जोड्ने गरी कालोपत्रे योजना रहेको खरी खोला-सर्पान्दी हुँदै गाउँपालिका केन्द्र जाने सडकको ठेक्का सम्झौता हुन सकेको छैन । १० किमि सडकका लागि मन्त्रालयले ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

टेन्डर प्रक्रिया चलिरहेकाले १-२ महिनामै यो सडक कालोपत्रे सुरु हुने कार्यालय प्रमुख खड्काले जानकारी दिए । गण्डकी प्रदेश सरकारले पालिका मुकाम जोड्ने र रणनीतिक योजनामा समावेश गरेर सडक कालोपत्रे र स्तरोन्नतिको काम गरिरहेको हो ।