यस्ता पो जनप्रतिनिधि

जनताको प्रतिनिधि हुँँ, ठेकेदारी गर्दिन बरु कुखुरा पाल्छु 


  • change font
  • change font
  • change font

गोरखा- उमेरले ४९ वर्ष । ढल्किँदो उमेर तर फुर्तिलो शरीर । जिम्मेवारी वडाध्यक्षको हैसियतमा नागरिकको सेवा । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म ठेक्कापट्टा गरेर जीविका चलाउँदै समाज सेवामा रमाउने गरेका थिए ।  वडाध्यक्ष बनेपछि जनप्रतिनिधिको कुर्सीमा रहँदासम्म ठेक्कापट्टा नगर्ने निर्णय गरे ।


वडाध्यक्ष नहुँदा पनि ठेक्कापट्टाबाट आएको मुनाफा गाउँको विकासमा खर्च गरिरहेका उनी जनप्रतिनिधि भएपछि गाउँको विकासमा जुटेका छन् । वडाध्यक्ष भएपछि ठेक्कापट्टा गर्न छाडेका उनलाई लाग्यो, ‘जनप्रतिनिधिकै सेवा-सुविधाबाट मात्रै बजारको बढ्दो महँगीमा टिक्न सकिँदैन ।’

 

उनले २०७५ भदौदेखि खर्से बुक पशुपक्षी फार्म दर्ता गरेर गोरखा नगरपालिका वडा नम्बर ७ हिलेपोखरीमा व्यावसायिक कुखुरापालनसँगै राजनीतिलाई अगाडि बढाए ।


धार्चे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यमान गुुरुङको दैनिकी राजनीतिसँगै कुखुरापालनमा बित्न थालेको छ, यतिबेला ।

 
अहिले उनको फार्ममा ७ सय बोइलर छन् । कुखुराको रेखदेख गर्न स्थानीय एक महिलालाई रोजगारी दिएका छन् । वडाध्यक्ष भने कहिलेकाहीँ जनताकै काम लिएर सदरमुकाम आउँदा समय मिलाएर फार्ममा जान्छन् । कुखुरालाई दानापानी दिन्छन्, अनि रमाउने गर्छन् । 


‘वडाध्यक्ष हुनुअघि निर्माण व्यवसायी थिएँ । निर्वाचित भएपछि ठेक्कापट्टा गर्न नैतिकताले दिएन, गरिनँ । केही काम नगर्ने हो भने बजारभाउ दिनदिनै महँगो हुँदै छ । परिवारको आधारभूत आवश्यकता पूर्ति गर्न मुस्किल हुन्छ । त्यसो भएपछि कि भ्रष्टाचार गर्नुप¥यो कि केही आम्दानी हुने काम गर्नुपर्‍यो’, वडाध्यक्ष गुरुङले भने, ‘त्यसैले कुखुरापालन गर्न सुरु गरेँ ।’


उनले फार्ममा १ लटमा ७ सयदेखि १ हजारसम्म कुखुरा पाल्ने गरेका छन् । १ लटमा उनले न्यूनतम ४० हजार रुपैयाँ बढी नाफा कमाउने गर्छन् ।


‘बोइलर कुखुराको ४५ दिनदेखि ५० दिनभित्र उत्पादन लिन सकिन्छ । त्यस अवधिमा हिसाब गर्दा कर्मचारीलाई तलब, अन्य खर्च सबै कटाउँदा ४० हजारदेखि ७०/८० हजार रुपैयाँसम्म नाफा भइरहेको छ’, गुरुङ खुसी सुनिए । 


आम्दानीको कुरा गर्ने हो भने अहिलेभन्दा उनको कमाइ निर्माण व्यवसायी हुँदा नै तुलनात्मक रूपमा बढी हुन्थ्यो । तर, वडाध्यक्ष गुरुङले भने समाज सेवामा समर्पित हुनु नै आफ्नो रुचि, खुसी ठाने ।


गुरुङ वडाध्यक्ष भएपछि आफ्नो वडाका सयौँ युवायुवतीलाई सीपमूलक तालिम दिएर स्वरोजगारमा लगाए । वडाको ७५ प्रतिशत घरधुरीमा एक घर एक धारा पुगेका छन्, बाँकी घरधुरीमा यसैपालि एक घर एक धारा पुर्‍याउने उनको लक्ष्य छ । 


केन्द्रीय प्रसारण लाइनको बिजुली यसै वर्ष पुग्दै छ । सडक सञ्जाल पुगिसक्यो । अहिले सडक स्तरोन्नतिको काम धमाधम हुँदै छ । तर, यहाँ अधिकांश जनजाति र दलित बस्ती भएकाले पनि हरेक हिसाबले पछाडिको यो समुदायलाई अग्रपंक्तिमा ल्याउनुपर्ने मुख्य चुनौती वडाध्यक्ष गुरुङसँग छ ।


वडाबासीको जीवनस्तर उकास्न समय-समयमा सीपमूलक तालिम र विभिन्न विकास निर्माण योजना सञ्चालन भएकै छन् । तर, गरिबीको रेखामुनि रहेकाहरूलाई उकास्दै सामाजिक रूपमा समेत रुपान्तरण गर्न सके मात्र आफूले वडाको प्रतिनिधित्व गरेको सार्थक हुने गुरुङ बताउँछन् ।

 

सरकारी स्तरबाट आएका सहयोग र योजनाले मात्र व्यक्तिको जीवनस्तर उकास्न नसक्ने भएकाले आफ्नो तर्फबाट आत्मनिभर बन्न केही न केही गर्नैपर्ने उनको बुझाइ छ । 


‘हामी सधैँ अरूको भर परेर हुँदैन । अब व्यावसायिक हुँदै आफू आर्थिक रूपमा पनि सबल भएपछि मात्रै समाजसेवामा लाग्नुपर्छ । अन्यथा समाजसेवा गर्ने नाममा भ्रष्टाचार मौलाउन थाल्छ’, उनले भने ।

 
उनी आफूलाई जनताको प्रतिनिधि तथा सेवक ठान्छन् । भाषणमा भन्दा बढी काममा विश्वास गर्छन् । ‘भाषणभन्दा बढी काममा जोड दिनुपर्छ । मैले नेतृत्व गरेका ठाउँका हरेक जनता आत्मनिर्भर भए मात्र राजनीति गरेको ठहर्छ । त्यसैले म व्यवसायमा लाग्न नै जनतालाई प्रेरित गर्ने गर्छु’, उनी भन्छन् ।