close

झिमरुकका बूढा बाआमालाई कोसेलीका पोका

झिमरुकका बूढा बाआमालाई कोसेलीका पोका

Trulli
ADVERTISEMENT

प्युठान- प्युठानको झिमरुक गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक लक्षित गर्दै ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम सुरु गरेको छ । 

 

पालिकाभित्रका ८४ वर्षमाथिका ज्येष्ठ नागरिकको वडामार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विकास केसीले जानकारी दिए ।

 

ज्येष्ठ नागरिकलाई प्रदेश सरकारमार्फत विगतमा एक आर्थिक वर्षमा ३ पटकसम्म स्वास्थ्यकर्मीहरू घरमै गएर सामान्य स्वास्थ्य परीक्षण गर्ने, औषधी दिने, स्वास्थ्य परामर्श दिइने गरिन्थ्यो ।

 

यस वर्षदेखि गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । 


कार्यक्रममार्फत गाउँपालिकाभित्रका ८४ वर्षमाथिका १ सय ५० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणसँगै कोसेली उपलब्ध गराइने उनको भनाइ छ ।

 

‘कार्यक्रममार्फत १ ज्येष्ठ नागरिकलाई हर्लिक्स, टाबेल, पाउडर, साबुन, टोपी, मोजा, झोलालगायत गरी २ हजार ५ सय रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइनेछ’, केसीले भने ।

 

बुधबारबाट सुरु गरिएको कार्यक्रम आगामी दुई सातासम्म चल्नेछ । ज्येष्ठ नागरिक स्वास्थ्य संस्था तथा पालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिइनेसमेत उनले बताए ।

 

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखिए स्वास्थ्य संस्थामा रहेको औषधी निःशुल्क दिने र परामर्शसमेत गरिनेछ ।


कार्यक्रम सञ्चालनका लागि पालिकाले चालू आर्थिक वर्षमा ३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी, जनप्रतिनिधिको सुझावमा कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताइन् ।

 

कार्यक्रममार्फत पालिकाका ८ वटै वडाभित्रका ८४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोसेली उपलब्ध गराइने उनको भनाइ छ । ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको कोसेलीले मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको जिसीले बताइन् ।