close

लगानी सम्मेलनमा जुट्यो लुम्बिनी प्रदेश

लगानी सम्मेलनमा जुट्यो लुम्बिनी प्रदेश

Trulli
ADVERTISEMENT

रूपन्देही- संघीय सरकारले आउँदो १७ र २७ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेर प्रधानमन्त्री चुनावी दौडाहामा रहेकै बेला लुम्बिनी प्रदेश सरकारले भने १९ र २० चैतमा प्रदेश लगानी सम्मेलनको घोषणा गरेको छ ।

 

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १९ र २० चैतमा प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।


बैठकपछि मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले कोभिडका कारण स्थगित भएको लगानी सम्मेलन आउँदो चैतमा गर्ने निर्णय भएको बताए ।

 

लगानी सम्मेलनको अवधारणापत्र तयार गर्न प्रदेश सरकारले विभिन्न समिति गठन गरेको मन्त्री चौधरीले जानकारी दिए । निर्वाचन आचारसंहिताले नरोके स्थगित लगानी सम्मेलन चैतमा गरिने उनको भनाइ छ ।


बैठकले प्रदेश अनुसन्धान ब्युरो गठनसम्बन्धी ऐन बनाउन सैद्धान्तिक सहमति दिएको छ । संविधानले प्रदेशमा अनुसन्धान ब्युरो र प्रदेश प्रहरी गठनको व्यवस्था गरे पनि केन्द्र सरकारबाट नियमावली र निर्देशिका बनाउन ढिलाइ भएकाले ऐन निर्माणमा ढिला भएको मन्त्री चौधरीले बताए ।


प्रदेश सरकारले कोभिड नियन्त्रणका लागि प्रदेशका ४ स्थानमा सञ्चालनमा रहेका आइसोलेसन अस्पताललाई थप ३ महिना म्याद थपेर सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । प्रदेशमा रूपन्देहीमा २, दाङमा १ र बाँकेमा १ आइसोलेसन अस्पताल सञ्चालनमा छन् ।


मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपीन्द्र जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल ओलीलाई नियुक्त गरेको छ । प्रवक्ता चौधरीका अनुसार जिसीले राज्यमन्त्रीसरह र ओलीले सहायक मन्त्रीसरह सुविधा पाउनेछन् ।