close

दानमुठी उठाएर बालबालिकालाई आश्रय 

दानमुठी उठाएर बालबालिकालाई आश्रय 

Trulli
ADVERTISEMENT

बागलुङ- साढे ३ वर्षकी सृष्टि के थरकी हुन् भन्ने थाहा छैन । सुस्त मनस्थितिकी आमा मीनाले जन्माएकाले उनीहरूको वास्तविक पहिचान अझै नखुलेको हो ।


४ वर्षअघि बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएकी मीना गर्भवती थिइन् । यहाँको मानवसेवा आश्रमकी सञ्चालक सुमिरा लामाले उनलाई ल्याएर पालनपोषण गराइन् । 

 

धौलागिरि अस्पतालमा सुत्केरी भएपछि जन्मेकी सृष्टि भने अविवाहित २७ वर्षीय लामाको काखमा छन् । साढे ३ वर्ष पुगेकी सृष्टिले लामालाई नै आमा भनेर चिनिसकेकी छिन् ।


आश्रममा अरू ३ बालिका र १ बालकसहित ४० असहायलाई राखिएको छ । लामाले दानमुठी उठाएर उनीहरूको पालनपोषण गरिरहेकी छिन् । आश्रममा बस्ने बिनु, कोपिला, उषा र सफलसँगै सृष्टि खेल्छिन् ।

 

भोक लागेपछि ‘ममी’ भन्दै लामाको काखमा पुग्छिन् । लामासँगै रात कटाउँछिन् । बंगाली भाषा बोल्ने मीनाले घर कता हो भनेर बताउन सक्दिनन् । सृष्टिले नेपाली भाषा प्रस्ट बोल्न थालिसकेकी छिन् । 


सबै बालबालिकाका लागि लामा एक्ली आमा हुन् । जन्मदिने आमामा सन्तानबारे ज्ञान छैन । आश्रममा बस्ने सबैले लामालाई नै अभिभावक मान्छन् ।

 

उषा, बिनु र कोपिलाको आमा को हुन्, कता छन् थाहै छैन । लामाले सबैलाई दैनिक खाने-बस्ने व्यवस्थापन गर्छिन् । हेटौंडामा रहेको आश्रमको शाखा ४ वर्षअघि बागलुङमा पनि खोलिएको थियो । 

 

मानिस नजिक जाँदा भाग्ने, फोहोर उठाउने, नालीमै रात कटाउने बालबालिकालाई सफाइ गरेर आश्रममा भित्र्याइएको हो । जिल्लाबासीले जन्मदिन, संघ-संस्थाको साधारणसभा, विद्यालयको वार्षिकोत्सवजस्ता पर्वमा दिने सामग्री, खाद्यान्नजस्ता सहयोगले आश्रम संचालन भइरहेको छ ।


आश्रममा नियमित स्वास्थ्योपचारका लागि लामाले पहल गर्छिन् । लामाको घर पनि हेटाैंडा हो । लामाका बाबु सुनित हेटौंडामा अटो चलाउँछन् भने आमा विष्णु गृहिणी । लामा सामाजिक क्षेत्रमा ७ वर्षदेखि क्रियाशील छिन् ।

 

बागलुङ आउनुअघि हेटौंडामै खुलेको आश्रममा उनले काम गरेकी थिइन् । ४ वर्षदेखि चाडपर्वसमेत नभनी लामाले निरन्तर सेवा गरिरहेकी छिन् । 


बागलुङमा आश्रम खोल्ने निर्णय भएपछि लामा यही बसिन् । सडकमा अलपत्र अवस्थामा भेटिएका मानिसलाई जम्मा पारेर नुहाइदिने, उपचार गर्ने र स्याहारमा उनी निरन्तर खटिइन् । शरीरमा घाउचोट लागेकालाई उनले आफैं उपचार गराएर सञ्चो बनाइन् ।


आश्रममा आएपछि १५ जना आफन्त भेटेर पुनस्र्थापन भइसकेको उनले बताइन् । केहीको आश्रममै मृत्युसमेत भयो । मृत्युपछि दाहसंस्कार गरिदिने काममा लामाले अगुवाइ गर्छिन् ।

 
तत्कालीन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाइमा जीर्ण घरलाई सफा गरेर आश्रम स्थापना गरिएको थियो । प्रशासनले आश्रमलाई उक्त घरको भोगाधिकार दिलाएको छ । परोपकारी काम भएकाले पाण्डेले आश्रम चलाउने सहमति दिएका थिए ।


यहाँका युवाहरूले पनि यो आश्रमलाई साथ दिएका छन् । मनीष रायमाझी, शिव बोहरा, हरि रुचाल, सरिता गौतमलगायतका युवाले यो अभियानमा साथ दिएपछि लामाले हौसिएर थप सेवा गरिरहेकी छिन् ।


बालबालिकासहित अलपत्र मानिसलाई स्याहार गरेकी लामाले पारिश्रमिक भने लिएकी छैनन् । ‘रोजगारी पाउनका लागि होइन, सेवाभावले काम गरेकी हुँ’ उनले भनिन्, ‘यस्तो कामबाट मलाई आत्मसन्तुष्टि मिलेको छ ।’ 


बरु १ वर्षदेखि आश्रममा नवलपुरकी विपना केसीले साथ दिएकी छिन् । ‘उहाँहरूको सामाजिक सेवा देखेर हामीले पनि सक्दो सहयोग गरेका छौँ,’ स्थानीय सरिता गौतमले भनिन्, ‘युवाहरूले पनि खुसी भएर जन्मदिनको खर्च सहयोग गर्न थालेका छन् ।’