close

गौतमबुद्ध बिमानस्थलसँगै रुपन्देहीमा चम्कियो होटल व्यवसाय

५० अर्वको लगानीले ८ हजार बढीलाई रोजगारी 

गौतमबुद्ध बिमानस्थलसँगै रुपन्देहीमा चम्कियो होटल व्यवसाय

५० अर्वको लगानीले ८ हजार बढीलाई रोजगारी 

Trulli
ADVERTISEMENT

रुपन्देही- नेपालकै नमुना नगरपालिका तिलोत्तमा नगरपालिकामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यका साथ  ठुला ठुला होटल सुरु भएका छन् । भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्ण कार्य सुरु भएसँगै तिलोत्तमा नगरपालिका बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिका सैनामैनामा होटल खोल्ने क्रम बढेको छ ।


लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले  तिलोत्तमा नगरपालिका-७ भलवारीमा १७ करोडको लगानीमा होटल हिडन प्यालेस प्रालि. सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले होटल सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष अन्जु खनालले वताइन् । 


देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन होटल व्यवसायमा प्रवेश गरिएको उनले बताइन् । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र लुम्बिनी आउने विभिन्न देशका पर्यटकलाई लक्षित गरी  होटल सञ्चालनमा ल्याइएको खनाल बताउँछिन् ।


‘हामीले २०७० सालमा एउटा सामान्य खालको पार्टी प्यालेस बनाउने निर्णय ग¥यौं, त्यसै क्रममा हाम्रो योजना परिवर्तन भयो, हामीले सामान्य खालको पार्टी प्यालेसको सट्टा सुविधासम्पन्न होटल बनाउने निर्णयमा पुग्याैं, उनले भनिन् ।

 

पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट, सेमीनार हल बनाइएको प्रा.लि.का कार्यकारी अध्यक्ष भुवन खनालले बताए । आउँदो वैशाखसम्म ३६० भ्यु बार हाउस (डोम) व्याङक्वीट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ (पाउरोटी पसल) लगायतका संरचना निर्माण गर्ने प्रालिले लक्ष्य लिइएको र आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगाएतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको खनालको भनाइ छ ।


होटलले ३७ जनालाई रोजगारी दिएको र आगामी दिनमा ५० जना बढीलाई रोजगारीको अवसर दिने लक्ष्यमा रहेको उनले बताए । होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष  समुद्र जीसीका अनुसार बुटबल, भैरहवा तथा आसापासमा  साना ठूला गरी १५ सय भन्दा बढी होलट सञ्चालनमा छन् । 

 

भैरहवामा अन्तर्राष्ट्रिय  बिमानस्थल गौतमबुद्धको जन्मथलो लुम्बिनी तथा नेपालकै पहिलो बिशेष आर्थिक क्षेत्र सेजमा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी रुपन्देहीका होटलमा ५० अर्बको लगानी भएको अध्यक्ष जीसीले बताए ।

 

बुटवलमा १४ सय र भैरहवामा १ सय १६  साना ठूला होटल सञ्चालनमा छन् । उनले ५ करोडभन्दा साना लगानीकर्ता अत्यधिक रहेको बताएका छन् । बुटबलमा तारे होटल भने अहिलेसम्म छैन । 

 

१ करोड भन्दामाथि लगानी गर्नेको होटल संचालकको संख्या २ सय भन्दा बढी छ । होटल र  पाटी प्यालेसमा १ देखि ५० करोड सम्मको लगानी भएकालाई समूह ए समूहमा राखिएको छ ।

 

१ करोड भन्दा तल २५ लाखसम्मको लगानी रहेका रहेकालाई बी समूहमा र २५ लाख रुपैयाँभन्दा तलका लगानी रहेका सबैलाई सी समूहमा राखिएको उनले बताए । बुटबल उपमहानगरपालिका तिलोत्तमा, देबदह, सैनामैना तथा गाउँपालिकामा रहेका होटलहरु संघमा आवद्ध रहेको जिसीको भनाइ छ । 

 

उनका अनुसार अहिलेका नयाँ होटल नयाँ प्रविधि र सेवायुक्त पर्यटनमैत्री छन् । यहाँ खुलेका होटलमा ८ हजार बढी मजदुर  कार्यरत छन् । बुटबलमा दैनिक १० हजारलाई खाना बस्नको सुविधा रहेको जिसीको भनाइ छ ।


लुम्बिनी र आसपासको क्षेत्र अन्तराष्ट्रिय पर्यटन सहर बन्दै जाँदा अन्यत्रका होटल व्यवसायीसमेत यहाँ आकर्षित भएकोे बुटबल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र खनालले बताए ।