close

अब बन्ला त ३३ वर्षदेखि प्रतीक्षा गरिएको नौमुरे जलविद्युत् ?

४४ सालमा सर्वे, २०६५ मा प्रचण्डलाई उपहार, रायमाझीकाे आस्वासन

अब बन्ला त ३३ वर्षदेखि प्रतीक्षा गरिएको नौमुरे जलविद्युत् ?

४४ सालमा सर्वे, २०६५ मा प्रचण्डलाई उपहार, रायमाझीकाे आस्वासन

Trulli
ADVERTISEMENT

अर्घाखाँची- अर्घाखाँची र प्यूठानको सीमामा पर्ने २ सय ४५ मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छ । २०४४ देखि २०४६ सम्म लामो समय लगाएर सर्भे गरिए पनि आयोजना निर्माण रोकिएको थियो । 

 

आयोजनाको नाम अर्घाखाँचीको जलुके वडा नम्बर २ मा पर्ने नौमुरे गाउँको नामबाट राखिएको हो । प्यूठानको हंसपुर र अर्घाखाँचीको जलुकेमा आयोजनाको संरचना पर्छ ।

 

तत्कालीन पञ्चायती सरकारले आयोजनालाई निर्माणलाई गति दिनै लागेका बेला बहुदल आएपछि रोकिएको स्थानीय बताउँछन् । ‘अब आयोजना बन्ला भन्ने आश छ,’ स्थानीय पीताम्बर सारुले भने, ‘सरकारले छिट्टै काम अघि बढाउनुपर्छ ।’ 


तत्कालीन विद्युत् समिति संयोजकसमेत रहेका सारुले बेलाबेला नौमुरेबारे कुरा उठने गरे पनि निर्माण सुरु नहुँदा यस क्षेत्रका वासिन्दा चिन्तित बन्नुपर्ने अवस्थामा रहेको सुनाउँछन् ।


‘बेलाबेला आयोजना बन्ने भनेर सञ्चार माध्यममा समाचार आउँछन्,’ उनले भने, ‘काम सुरु नहुँदै विश्वास गर्ने अवस्था रहेन ।’


आयोजनामा ९० मिटरको ड्याम्प बनाएर विद्युत् निकाल्न सकिने सम्भाव्यता अध्ययनको रिपोर्टमा उल्लेख छ । तत्कालीन एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ३१ साउन २०६५ को भारत भम्रणका बेला नौमुरेलाई उपहारस्वरूप बनाइदिने प्रतिबद्धता भारतले व्यक्त गरेको थियो ।


तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले दाहाल प्रधानमन्त्रीका रूपमा दिल्ली भ्रमणमा गएका बेला उक्त आयोजना उपहारस्वरूप बनाइदिने घोषण गरेका थिए । प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्न नसकेका कारण भारतको प्रतिबद्धता त्यतिबेला सेलायो ।


पछि भारतले पानी आफ्नो देशमा लैजाने गरी सित्तैमा आयोजना निर्माण गरिदिने आश्वासन बाँडे पनि नेपालले पानी दिन मानेको छैन । नेपालले यसलाई जलाशययुक्त बहुउद्देश्यीय बनाउने अडान लिएपछि दुई देशबीच कुरा मिल्न नसकेको हो ।


नेपालको कपिलवस्तुको ४० हजार हेक्टर जग्गामा सिँचाइ पुर्‍याउने एक मात्र विकल्पका रुपमा नौमुरेलाई अघि सारिँदै आएको छ । भारतले बिजुली मात्र उत्पादन हुने गरी बनाउन प्रस्ताव गरेको छ । भालुभावाङमा रिरेगुलेटिङ (सहायक बाँध) निर्माण गरेर कपिलवस्तुमा सिँचाइ लैजाने गरी जल तथा ऊर्जा आयोगले अध्ययन गरेको छ ।


झिमरुक र माडी खोलाको २ किलोमिटर तल नौमुरे आयोजना स्थल छ । यसको लागत सन २००७ को मूल्यमा ३२ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । 


नौमुरेलाई जलाशययुक्त बनाएर कपिलवस्तुमा पानी लैजाँदा आफ्नो भूभागमा पानी कम हुने भएकाले भारतले नदी प्रवाहलाई बढी जोड दिँदै आएको हो । भारतलाई पानी दिन नसकिने भन्दै नेपाल सरकारले २०७१ साउनमा आयोजनाको काम आफैं अघि बढाउने बताएको थियो । 


नेपाल सरकारले आफैं बनाउने बताए पनि अहिलेसम्म काम अगाडि बढेको छैन । केही महिनाअगाडि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नौमुरे जलविद्युत् आयोजनाको सर्भेको काम अगाडि बढेको जानकारी दिएका छन् ।


‘लुम्बिनी प्रदेशको गौरवको आयोजना नौमुरे जलविद्युत्को पूर्ण सम्भाव्यता अध्ययन गरी निर्माणलाई अगाडि बढाइने रायमाझीको भनाइ छ ।


‘आयोजना अर्घाखाँची, प्यूठानसहित लुम्बिनी प्रदेशका लागि गौरवको योजना हुनेछ । अहिले ईआए र आईईको काम सम्पन्न भइसकेको छ,’ मन्त्री रायमाझीले भने ।


यहाँ हिउँदमा पनि २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने अध्ययन टोलीले प्रतिवेदन तयार पारेको छ । स्थानीय जुनबहादुर पुलामी ऊर्जामन्त्रीले घोषणा गरेपछि अब भने आयोजना निर्माणमा आशा जागेको बताउँछन् ।


‘गाउँमा यति ठूलो सम्भावना छ । जिल्लाबाटै ऊर्जामन्त्री बन्नुभएको छ । नौमुरेबाट निस्केको विद्युत् बाल्न पाउनेमा आशावादी छौँ,’ उनले भने ।


तत्कालीन समय ३ वर्ष आयोजनाको काममा रोजगारी पाएका स्थानीय रामबहादुर कुमालले अहिले सपनाजस्तै लागेको सुनाउँछन् । ‘त्यतिबेला अब सधैँ रोजगार पाइने भइयो भनेर खुसी लागेको थियो,’ उनले भने, ‘हाम्रो खुसी एकाएक हरायो । हेलिकोप्टरहरू ४-५ पटक ओहोरदोहोर गर्थे,’ उनले थपे, ‘बम ब्लास्ट गर्दा आङ सिरिंग हुन्थ्यो ।’