close

जनकपुरमा साहित्य महोत्सवको तयारी

जनकपुरमा साहित्य महोत्सवको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल पर्यटन बोर्डको कार्यालय, भृकुटीमण्डपको ठीक पछाडि पानपसल, चियापसल र नास्तापसल लागेको दृश्यले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको झल्को दिइरहेको थियो ।

 

पसल अगाडि मुख्यमन्त्री लालबाबु राउत च्युरा, मुरही र घुघनी खाँदै गफिएका थिए । प्रसंग थियो, जनकपुर साहित्य महोत्सवको । शुक्रबार काठमाडौं प्रदर्शनी मार्गस्थित पर्यटन बोर्डको सभाहलमा जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करणको विधिवत घोषणा गरियो ।

 

मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव जनकपुरमा १९ देखि २२ फागुनसम्म चल्नेछ । संघीय राजधानी काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा महोत्सवलाई पृथक र एतिहासिक बनाउने तयारी गरेको आयोजकले बताए ।

 

जनकपुरको अलग–अलग स्थानमा ४ दिन सम्म चल्ने महोत्सवमा साहित्य, लेखन, सिनेमा, संगीत, राजनीति, समाज र विज्ञान प्रविधिका विषयमा मन्थन हुने आयोजक फाउन्डेसनका अध्यक्ष अमित झाले बताए ।

 

‘महोत्सवमा मैथली साहित्य, विद्यापतिको स्मरण, सीमापारिको साहित्य, विदेशिएकाको कथा, पुस्तकको कथा, महिला महिमा, सिनेमाका कुरालगायत विषयमा प्यानलगत छलफल चलाइनेछ ।

 

जनक र जानकीसभाबाट सुरु हुने कार्यक्रममा फरक–फरक विषयमाथि १५ वटा सेसन सञ्चालन हुनेछन् । महोत्सवमा नेपाल, भारत र बंगलादेशबाट समेत साहित्यकारको जमघट गराउने तयारी आयोजकको छ ।


घोषणा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध मुलुक बनाउन भाषा, संस्कृति, रहनसहनको महत्त्वपूर्ण भूमिका रहेको बताए ।


‘समाजमा रहेका विभेद, असमानता र वर्गीय, लैंगिक असमानता जबसम्म अन्त्य हुन सक्दैन, तबसम्म कुनै मुलुक समृद्ध कहलिँदैन,’ राउतले भने ।

 

महोत्सवमा चलचित्र क्षेत्रका हस्तीहरू राजेश हमाल, मनीषा कोइरा, रवीन्द्र झा, पुर्नन्दु झासहितको उपस्थिति रहनेछ । राजनीति क्षेत्रबाट प्रदीप गिरी, विमलेन्द्र निधि, ईश्वर पोखरेल, गगन थापा र रवीन्द्र मिश्रलगायत उपस्थित हुनेछन् ।