close

समूहमा गाई पाल्नेलाई जैमिनीको अनुदान

समूहमा गाई पाल्नेलाई जैमिनीको अनुदान

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको जैमिनी नगरपालिकाका अधिकांश गाउँ ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । यहाँका युवाहरूले माध्यमिक तहको पढाइ पूरा गरेपछि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् । 


युवाहरू विदेसिँदा जैमिनीको खेतीयोग्य जमिन बाँझिएका छ । ठूला फाँटमा सिरु फुल्न थालेको छ । नगरका १० वटै वडाबाट विदेश पलायनको अवस्था जानकारी पाएको नगरपालिकाले बाँझो जमिनको उपयोग र युवालाई स्वरोजगार बनाउन कृषि र पशुपालनमा नयाँ अभ्यास सुरु गरेको छ ।


नगरपालिकाले विदेश जाने क्रम रोकेर गाउँमै रोजगारी सिर्जना गर्न कृषि तथा पशुपालन परियोजना सुरु गरेको हो । 

 

‘नगरप्रमुख कृषि परियोजना’ र नगरप्रमुख पशु विकास परियोजना’ सञ्चालनमा आएको छ । परियोजनाअन्र्तगत चालू आर्थिक वर्षमा ३ सामूहिक गाई फार्म र ५ सामूहिक खेती समूह तयार गरिनेछ ।

 

‘किसानलाई सामूहिक उत्पादनमा प्रेरित गर्ने योजना हुन्, जसका कारण रोजगारी र उत्पादन दुवै सिर्जना हुन्छ,’ पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले भने, ‘नगरले बनाएको मापदण्ड पूरा गर्ने समूह तथा सहकारीले अनुदान पाउँछन् ।’

 
३ वटा सामूहिक पशुपालन फार्मका लागि नगरले ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ५० रोपनी जमिन, २५ जनाको समूह र २५ वटा गाई खरिद गर्ने समूहलाई नगरपालिकाले १८ लाख रुपैयाँ अनुदान दिने कार्यविधि छ । 

 

समूहले ३० लाख रुपैयाँको परियोजना बनाउनुपर्छ । १२ लाख रुपैयाँ लगानी समूह आफ्नै हुनुपर्ने व्यवस्था छ । यसका लागि फर्म दर्ता भएको हुनुपर्छ भने १० वर्षको जग्गा सम्झौता र मुनाफामुखी उत्पादन पक्का गरिएको कार्ययोजना नगरपालिकाले मागेको छ ।

 
‘अधिकतम किसानको सहभागिता होस् भन्ने हाम्रो मान्यता हो,’ नगरप्रमुख इन्द्रराज पौडेल भन्छन्, ‘सामूहिक रूपमा कृषि र पशुपालन गर्नेहरूको संख्यामा वृद्धि गर्दै समृद्ध नगरपालिकाको सपना साकार पार्नु छ ।’ 


शाखाले २ पटकसम्म किसानबाट प्रस्ताव मागेको छ । २ वटा समूहले प्रक्रिया पूरा गरेर अनुदान लिने तयारीमा रहेको पशु शाखा प्रमुख ढकालले बताए । अर्को परियोजनाका लागि समूह निर्माण र तालिम तथा गोष्ठी भइरहेका छन् ।

 

समूहमा गाई पाल्नेका लागि आवश्यक तालिम व्यवस्था नगरपालिकाले गर्नेछ । चालू वर्षको योजनालाई निरन्तरता दिँदा जैमिनी अबको २ वर्षमा दूधमा आत्मनिर्भर बन्नेछ । अहिले पनि यहाँका किसानले दूध उत्पादन र बिक्री गर्दै आइरहेका छन् । 


रैथाने बालीको व्यावसायिक उत्पादनका लागि नगरले नगरप्रमुख कृषि परियोजना लागू गरेको छ । चालू आर्थिक वर्षमा ५ वटा समूहले ५० रोपनी जमिनमा सामूहिक खेती गर्ने नगरपालिकाले जनाएको छ । 

 

रैथाने बालीको सामूहिक खेती गर्ने किसानका लागि प्रतिसमूह ५ लाख रुपैयाँ अनुदान नगरपालिकाले दिनेछ । न्यूनतम ५ जना व्यक्तिको समूह बनाएर खाद्यान्न बाली लगाउने गरी यो परियोजनामा ५ वटा समूह छनोट हुनेछन् ।

 

दुवै परियोजनामा बाँझो जमिन प्रयोग गर्नेलाई प्राथमिकतामा राखेको कृषि शाखाले जनाएको छ ।