close

खोटेहाङको आठौँ गाउँसभा : ३ करोड बढी पूरक बजेट बाँडफाँट 

खोटेहाङको आठौँ गाउँसभा : ३ करोड बढी पूरक बजेट बाँडफाँट 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले गत आर्थिक वर्षको पूरक बजेट बाँडफाँट गरेको छ । गाउँपालिकाको आठौँ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ मा कारोबार गरेर बाँकी सरिआएको ३ करोड ७ लाख रुपैयाँ बजेट बाँडफाँट गरेको हो ।

 

गाउँसभाले खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरी, वडा नम्बर २ वाप्लुखा र वडा नम्बर ३ सावाकटहरेमा विद्युतीकरणका लागि १ करोड, रसुवा-बाघेढुंगा सडक स्तरोन्नति (नाली र ग्राभेलिङ) का लागि १ करोड, कृषितर्फ बाँझो जग्गामा फलफूल खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत चिस्यान केन्द्र निर्माणका लागि डीपीआर तयार पार्न १८ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

 

यस्तै, न्यायिक समितिको सचिवालय व्यवस्थापनका लागि १८ लाख रुपैयाँ बजेट पारित भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि २५ लाख विनियोजन गरिएको विपद् व्यवस्थापनमा १४ लाख रुपैयाँ थप, सर्भे तथा डिजाइन उपकरण खरिदमा १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

औषधी र स्वास्थ्य सामग्री खरिदमा १० लाख, स्थानीय पाठ्यक्रम छपाइमा ८ लाख, सोलढुंगा पर्यटन प्रवर्द्धनका लागि ६ लाख, खोटाङ बजार र सिमपानी बजारमा सिसिक्यामेरा जडानका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

 

यसैगरी खेलकुद, राजस्व सुधार योजना, टोल विकास संस्था गठन र सशक्तीकरण, शिक्षक दरबन्दी मिलान अध्ययनलगायतका लागि पनि बजेट छुट्याइएको छ । 

 

गाउँपालिकाले चालू आर्थिक वर्ष कृषि कार्यक्रमका लागि ८० लाख रुपैयाँ विनियोजन गरेका बाँझो जग्गामा फलफूल खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत चिस्यान केन्द्र निर्माणका लागि डीपीआर तयार पार्न थप रकम व्यवस्था गरेको छ ।

 

यस्तै, ३ वटा वडामा १-१ करोड रुपैयाँ विनियोजन गरेर विद्युतीकरणको काम भइरहेको अवस्थामा पुनः पूरक बजेटबाट १ करोड रुपैयाँ थपिएको गाउँपालिका अध्यक्ष राईले बताए । 


गाउँसभाले गाउँपालिकाका उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा तथा पूरक बजेट स्वीकृत गरेको छ । यस्तै, विनियोजन विधेयक र आर्थिक विधेयक, २०७७ संशोधनसहित पारित गरिएको छ । शिक्षा ऐन, २०७४ पहिलो संशोधन बिधेयक पनि स्वीकृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।