close

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा: घर-भवन नक्सा पास कार्यविधि पारित

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा: घर-भवन नक्सा पास कार्यविधि पारित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको आठौँ नगरसभाको बैठकले साविक मापदण्डअनुसार निर्माण भएका घर-भवनको नक्सा पास र सूचीकरणसम्बन्धी कार्यविधि, २०७७ र करसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
    
उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुभन्दा अगाडि नक्सा पास नगरी साविक मापदण्डअनुरूप भए-नभएका वा पास भएका नक्साभन्दा हेरफेर गरी साविक मापदण्डअनुसार घर तथा भवन आदि निर्माण गरेका र मापदण्डअनुसार नभएका घरको नियमित एवं नक्सा पास र सूचीकृत गर्ने रहेको छ ।    

 

‘साविक मापदण्डअनुसार निर्माण भएका घर-भवनको नक्सा पास र सूचीकरणसम्बन्धी कार्यविधि, २०७७ बारेको छलफलमा सभासद् सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर माता र गोविन्द दुवालले सुझाव राखेका थिए ।
    
छलफलमा उठेका विषयमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिँदै विधेयकमा भएका त्रुटि सच्याएर कार्यान्वयनमा लगिने जानकारी दिए ।

 

नगरपालिकाले नगरबासीलाई लक्षित गरी दिइरहेको सीपमूलक तालिम र खेलकुद प्रशिक्षणको सदुपयोगबारे अनुगमन गर्नुपर्ने, नगरमा दिगो र स्तरीय सडक बत्ती व्यवस्थापन गर्नुपर्ने, घरबाटो सिफारिस दस्तुमा परिमार्जन गर्नुपर्ने, पर्ति जग्गा मिचेर घर बनाउनेको नक्सा पास रोक्नुपर्ने, नगरपालिकाको पहलमा चिस्यान केन्द्र बनाउनुपर्ने, तलेजुभित्रको चोकमा अवस्थित पौभा चित्र संरक्षण गर्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।