close

ताप्लेजुङमा दोस्रो चरणको खोप अभियान : जनप्रतिनिधिदेखि पत्रकारसम्मलाई दिइँदै

ताप्लेजुङमा दोस्रो चरणको खोप अभियान : जनप्रतिनिधिदेखि पत्रकारसम्मलाई दिइँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा आइतबारबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीसहित ९ वटा लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । 


निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले २ देखि ८ फागुनसम्म दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए । उनका अनुसार आइतबारबाट पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, पत्रकारलगायतलाई खोप दिइनेछ ।

 

खोप लगाउन खोप केन्द्रमा जाँदा आ-आफ्नो कार्यालय, संस्था, निकायको परिचयपत्र भने अनिवार्य गरिएको पोखरेलले बताए ।

 

१५ देखि २४ माघ सम्म सञ्चालित पहिलो चरणको अभियानमा ताप्लेजुङमा ८ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालको खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउने व्यवस्था गरेको छ ।