close

जुम्लाका स्थानीय तहसँग पर्यटन मन्त्रालयको साझेदारी

पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम सञ्चालन गरिँदै

जुम्लाका स्थानीय तहसँग पर्यटन मन्त्रालयको साझेदारी

पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम सञ्चालन गरिँदै

Trulli
ADVERTISEMENT

जुम्ला- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुम्लाका स्थानीय तहसँगको साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी स्थानीय तह र योजना छनोट गरेको छ ।


मन्त्रालयले देशभरका २ सय स्थानीय तहमा बढीमा ३ वर्षभित्र पूरा हुने गरी २ सय वटा योजना छनोट गरेको हो ।

 

जुम्लाको ८ स्थानीय तहमध्ये पर्यटन गन्तव्यको सूचीमा पातारासी गाउँपालिका वडा नम्बर ३ स्थित छुमचौर ज्यूलो संरक्षण तथा संवर्द्धन गर्न मन्त्रालयले छनोट गरेको हो । पातारासीको साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुनेछ ।


३ वर्षभित्र पूरा हुने यो योजनाका लागि गाउँपालिकाले ६० लाख र मन्त्रालयले १ करोड ४० लाख रुपैयाँ लागत साझेदारी गर्नेछन् । 


विश्वको अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पूर्वी भेगमा अवस्थित पातारासीको छुमचौर ज्यूलोमा मार्सीधान फल्छ । २ हजार ८ सय ५० मिटर अग्लो स्थान गिनिजबुकमा रेकर्ड छुमचौर ज्यूलोमा कालीमार्सी धान फल्ने गरेको छ ।


स्थानीय कलिमान महताराका अनुसार २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धानको रोपाइँ सुरु गरिएको थियो । उनले भने, ‘करिब १ दशकजति धान रोपाइँ भएन । अहिले १-२ वर्ष भयो मार्सी धानको रोपाइँ सुरु भएको ।’

 

स्थानीय बलबहादुर महताराको पालामा जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरको शेरा ज्यूलोबाट धानको बेर्ना अर्थात बिउ ल्याएर छुमचौर ज्यूलोमा रोपाइँ सुरु भएको थियो । 

 

तर, पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको थियो ।


पातारासीको वडा नम्बर ३ का वडाध्यक्ष बिर्खराम बोहराका अनुसारका अनुसार जेठमा धान रोप्ने सिजन र पाटनमा यार्सा संकलन सिजन एउटै भएपछि धानबालीभन्दा यार्सा संकलनबाट धेरै आम्दानी हुने हुँदा धान रोपाइँ विस्तारै स्थानीयले छाड्दै गएका थिए । 


उनले भने, ‘यहाँको महत्त्वको विषयमा पनि स्थानीयमा बुझाइको कमी रहेकाले यो खेती हराउँदै गएको थियो तर कालीमार्सी धानको महत्त्वको विषयमा बुझ्दै गएपछि अहिले २ सय रोपनीमा धान रोप्ने गरिएको छ ।’ 


मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो । 

 

पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार विश्वको उच्च स्थानमा धान फल्ने छुमचौर ज्यूलो संरक्षण र संवर्द्धन गर्न ८ करोड रुपैयाँ बढीको डीपीआर बनेको छ ।

 

ज्यूलोमा खेती हुने धान क्षेत्रको घेराबार गर्ने, सिँचाइ प्रणाली व्यवस्थापन गर्ने, होमस्टे मोडलमा क्वाटेज बनाउने, ज्यूलोभित्रै मन्दिर बनाउनेलगायता कार्य गर्ने योजना डीपीआरमा उल्लेख छ । 


बुढ्थापाले भने, ‘वहुबर्षीय योजना हो । पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा २ करोड रुपैयाँको काम ३ वर्षमा हुन्छ । अपुग रकम संघीय, प्रदेश एवं गाउँपालिकाको समन्वय र सहकार्यमा बहुवर्षीय आयोजना सम्पन्न गर्ने योजना छ ।’