close

विकासमा बुद्धशान्तिका स्थानीयको दरिलो साथ (भिडियाे खबर)

विकासमा बुद्धशान्तिका स्थानीयको दरिलो साथ (भिडियाे खबर)

ADVERTISEMENT

झापा- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको पनि २ वर्ष पूरा हुन लागेको छ । स्थानीय सरकारलाई नै यसको संयोजन गर्ने जिम्मा दिइएको छ । विकास निर्माणदेखि अन्य साना काममा पनि अहिले स्थानीय सरकारले स्थानीय व्यक्ति र उपभोक्तालाई नै सहभागी गराउन थालेको छ । 

 

खर्च जोगिने, रोजगारी पनि पाउने नीतिअनुसार झापाको बुद्धशान्ति गाउँपालिकाले पनि यही नीति अपनाएर अहिले काम गराउँदै आएको छ । बेरोजगार पनि रोजगारी पाउँदा दंग छन् । 

 

स्थानीय सरकारले उपलब्ध गराएको अवसर सदुपयोग गर्ने स्थानीय बढेका छन् । झापाको बुद्वशान्ति गाउँपालिकाको ७ नम्बर वडामा उपभोक्ता समितिमार्फत विकासका काम हुन थालेपछि स्थानिय खुसी पनि भएका छन् । वडा कार्यालयको छेउमा उपभोक्ता समिति वडा कार्यालयले ढल निर्माण गर्‍यो ।

 

त्यसका लागि छुट्टाएको ६ लाख रुपैयाँमा स्थानीय युवाले नै काम गरिरहेका छन् । कोरोना भाइरसका कारण विदेशिने धेरै युवा पनि यतिबेला घरगाउँमै हुँदा बेरोजगारी समस्या ठूलो देखिएको छ । यस्तो अवस्थामा राम्रो मूल्यमा आफ्नै घर–गाउँमा काम गर्न पाउँदा खुसी लागेको स्थानीय गोविन्दप्रसाद दुलाल बताउँछन् ।

 
वडाले करिब ४५ लाख रुपैयाँका ३० वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिरहेको छ । ड्रेन बनाउने, ढलान गर्ने, कल्भर्ट निर्माण गर्ने, सडकको भित्ता निर्माणलगायत काम उपभोक्ता समितिमार्फत भइरहेका छन् ।

 

स्थानीय युवालाई उपभोक्ता समितिमा राखेर उनीहरूसँगै स्थानीय युवालाई नै योजनाको जिम्मा दिँदा रोजगारी सिर्जना हुनुका साथै कामको गुणस्तरमा समेत बृद्वि हुने वडाको बुझाइ छ । अहिले वडा भरि २ सय युवाले रोजगारी पाएको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष मातृका पौडेलले जानकारी दिए ।

 

हरेक विकास निर्माणका काममा ठेकेदार छनोट गर्ने र मनपरी काम गर्ने स्थानीय तहको तुलनामा यसरी उपभोक्ता आफैं सहभागी भएर गरेको काम गुणस्तरीय हुने देखिएको छ ।