close

ताराखोलामा एकीकृत कृषि नमुना फार्म

ताराखोलामा एकीकृत कृषि नमुना फार्म

Trulli
ADVERTISEMENT

बागलुङ- बाग्लुङको ताराखोला गाउँपालिकाले एकीकृत सामुदायिक कृषि नमुना फार्म अभियान सुरु गर्ने भएको छ ।


जग्गा खण्डीकरण रोक्ने, सामूहिक, व्यक्तिगत कृषि फार्म सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने र हाइटेक प्रविधि भित्र्याउन गाउँपालिकाले चालू वर्ष झन्डै २ करोड रुपैयाँ विनियोजन गरेको छ ।


दर्जन बढी सूचकमा गाउँपालिकाले साझेदारीका कार्यक्रम थालेको अध्यक्ष प्रकाश घर्तीले बताए । 


गण्डकी प्रदेशले १ वर्षअघि नै ताराखोलालाई मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ बनाउने निर्णय गरेको थियो । त्यसका लागि कम्तीमा ५ सय रोपनी जमिन व्यावसायिक कृषि उत्पादनका लागि छुट्याउनुपर्ने प्रावधानअनुसार ताराखोलाले बाख्रापालन, किबी खेती, आलु, अलैँची खेती र कृषि उपज संकलन केन्द्र निर्माणको काम थालेको हो ।


कृषितर्फ तरकारी खेती र आलु खेती, बोटबिरुवातर्फ किबी, अलैँची, ओखरलगायत बोटबिरुवा र पशुपालनमा भेडाबाख्रा फार्म सञ्चालन गर्नेलाई लगानी आधारमा अनुदान दिने व्यवस्था मिलाइएको हो ।

 

किबीलगायत खेतीमा किसानले ५० प्रतिशत लागत सहभागिता जनाउनेछन् । ‘भेडाबाख्रा पाल्नेले २ सय रोपनीमा घाँस लगाउनुपर्नेछ,’ घर्तीले भने, ‘८ देखि १० जनाको टिम बनाएर आएपछि मूल्यांकनका आधारमा अनुदान लगानी गरिन्छ ।’ यहाँको धेरै भूगोल घाँसे मैदान र चरन क्षेत्रको रूपमा छ । 


आलु जोनबाहेक लसुन र किबीको पकेट बनाउन पूर्वाधार, उत्पादन र प्रविधिको जोहो गरेको छ । किसान पनि त्यस्ता उत्पादनमा आकर्षित छन् । मुला, साग, भट्टमास र अन्य गेडागुडीको उत्पादनमा पनि ताराखोला अब्बल छ । 

 

सिँचाइका लागि पानीको उपलब्धता प्रशस्त छ । केही आयोजना सञ्चालन गरेर खेतबारीमा पानी लैजाने काम गाउँपालिकाले बनाउँदै छ । कृषि ज्ञान केन्द्रमार्फत उक्त केन्द्रको अनुगमन र कार्यान्वयन हुनेछ ।


अहिले यहाँका किसानले आलु र अलैँचीको व्यावसायिक उत्पादन गरिरहेका छन् । त्यसबाहेक अदुवा उत्पादनमा पनि लगानी गर्ने तयारी गरिएको हो । 

 

‘काम गरिरहेका किसानलाई समूहमा आबद्ध बनाउने, पुँजी नपाएकालाई अनुदान दिन्छौँ,’ घर्तीले भने, ‘बजारीकरण र नियमित ढुवानीको काम सामूहिक रूपमा सञ्चालन गरिन्छ ।’

 

हरेक दिन किसानले उत्पादन संकलन गरेपछि बजार पठाउन सवारी साधनको व्यवस्थापनमा गाउँपालिकाले साथ दिनेछ । 

 

परम्परागत पेसामा मात्र रहेकालाई कृषिको व्यावसायिकीकरणमा लगाउने योजना यो अनुदानले पूरा गर्ने वडा नम्बर १ का वडाध्यक्ष यामबहादुर श्रीषले बताए । वडा नम्बर १ मा अलैँचीको व्यावसायिक उत्पादन भइरहेको छ ।


त्यसबाहेक मूला, आलु र प्लास्टिक टनेलमा तरकारी खेती गर्ने धेरै किसान छन् । सानो आकारका प्लास्टिक घरलाई बढाएर हाइटेक प्रविधिमा लैजान पहल भएको श्रीषले जानकारी दिए । 


गाउँपालिकामा ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम पनि सञ्चालनमा छ । यो कार्यक्रमले विपन्न परिवारमा पशुपालन र कृषि उत्पादनका लागि लगानी गरिएको छ ।

 

गत आर्थिक वर्ष यो कार्यक्रमबाट ८ घरमा आयआर्जन र रोजगारीको सिर्जना भएको उनले बताए । कार्यक्रमका लागि २ जना सहजकर्तासमेत छन् ।