close

कहिले पाउँछन् पीडितले राज्यको अनुभुति

कहिले पाउँछन् पीडितले राज्यको अनुभुति

Trulli
ADVERTISEMENT

गुल्मी- चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका किरण शाहको परिवार अझै सामान्य जीवनमा फर्किन सकेको छैन । फर्कियोस पनि कसरी ? करिव ७० लाखको लगानी छिनभरमै खरानी बन्यो ।

 

शाह परिवारले आधा घण्टामा २५ बाख्रा त गुमाए नै, त्योसँगै छोरा शौभाग्य पनि जलेर घाइते भए । तर, अझै यो परिवारले राज्य भएको महसुस गर्न पाएको छैन । ‘मलाई राज्यको केही आश छैन, कम खर्च देखाएर प्रहरी मुचुल्कामा त अन्याय गरे अरु के को आश ?’, उनी भन्छन्, ‘करिव ३२/३३ लाख त अझै ऋण छ ।’ 

 

डेढ महिनासम्म वडाध्यक्ष किरण शाहको आँखामा अझै आँसु रोकिएको छैन । उनी छोरालाई कृषि क्रान्तिबाटै सफल कृषि उद्यमी बनाउन चाहन्थे । त्यसैले अरु युवा परदेशलाई मरिहत्ते गरिरहेका बेला किरणले छोरा शौभाग्यलाई जापान र हङकङबाट फर्काएर कृषि कर्ममा उत्साह भरे ।

 

उनीहरुले गाउँका अरु युवालाई उत्साह भर्नकै लागि नुमना फर्म  पनि बनाए । तर, बीचमै दैव लाग्यो । आगोले ऋण खोजेर जोडेका बाख्रा र मिहिनेतले बनाएको फार्म क्षणभरमै खरानी बन्यो ।

 

जिल्लाकै सफल कृषक बन्ने सपना र कर्म मात्रै डुवेन देशका कैयन युवाहरुको आशा म¥यो । ‘मैले अझै पीडा बिर्सन सकेको छैन्, सोचेको थिएँ छोरालाई जिल्ला भित्र र बाहिरकै छुट्टै नमुना कृषक बनाउँछु,’ शाहले भने, ‘त्यसैले कृषिको क्षेत्रमा थुप्रै लगानी गरे, परदेशको छोरो फर्काएँ ।’

 

जिल्लामा प्रदेश सरकारका कृषि अड्डा छन् । प्रदेशमा कृषि मन्त्री छन् । त्यो मात्रै होइन, जिल्लामा मुख्य दल नेपाली कांग्रेसको नेपाल किसान संघ र नेकपाको अखिल नेपाल किसान महासंघ छ ।

 

तर, त्यति ठुलो घटनामा एउटा संगठनले दुःख व्यक्त गरेर बिज्ञप्तिसमेत निकालेनन् । केन्द्रको कुरै नगरौं, जिल्लाका कृषि अड्डा, प्रदेशको कृषि मन्त्री र मन्त्रालयका एक जनाले फोनबाट पनि दुख वा सन्त्वना दिएनन् ।

 

किसानको सुरक्षा, राहत र पुर्नस्थापनाको कुरा त एकादेशको कथा भएको किरणका छोरा शौभाग्यले गुनासो गरे । ‘आश्वसन थुप्रै आए, विशेष गरेर जिल्ला र प्रदेशका कृषि क्षेत्रका कसैले पनि फोन वा भेटघाट गर्नुभएको छैन्,’ उनले भने, ‘गाउँपालिकाले पनि खासै चासो र चिन्ता देखाएको छैन ।’

 

यो घटनाले शाह परिवार मात्रै पीडामा छैनन् । कृषिबाट समृद्धिको सपना देखेर लगानी गरेका थुप्रै युवाहरु हतोत्साही  भएका छन् । घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याउने र राहत तथा क्षतिपूर्तिमा राज्यको चासो नदेखिएका कारण किसानहरुमा उत्साह छैन ।

 

गाउँकै ३२ बर्षीय युवा लक्ष्मण परियाले दुवैमा कुकको काम गरेर राम्रो आम्दानी गर्थे । घरयासी समस्याले केही महिना पहिले परदेशबाट फर्र्किएर शाह परिवारकै उत्साहमा बाख्रा पालनको योजना बनाए । तर, शाह परिवारको फर्म अचानक आगलागी भयो । त्यसपछि मनस्थिति बदले र गाडी संचालनको योजना बनाए ।

 

नजिकको स्थानीय सरकार चन्द्रकोट गाउँपालिका हो । यो घटना चन्द्रकोट गाउँपालिकाको लागि निकै दुःखलाग्दो र गम्भिर विषय हो । घटनाका पीडित किरण शाह चन्द्रकोट गाउँपालिका ३ का वडाध्यक्ष हुन् । तर, चन्द्रकोट गाउँपालिकाले घटनाको सत्यतथ्य बाहिर ल्याउने बिषयमा सहजीकरणको सट्टा प्रहरीकै प्रतीक्षामा बसेको स्थानीयको आरोप छ ।

 

भने पीडितको राहत र पुर्नस्थापनाको विषयमा खासै चासो नदिएको जिल्लास्तरमा सरोकारवालाले आलोचना गर्ने गरेका छन् । तर, गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीको तर्क भने फरक छ ।

 
उनले कार्यपालिकाबाट तत्कालको राहतका लागि ४० हजार विनियोजन गरेको बताउँदै घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्यान दवाव दिइरहेका प्रतिक्रिया दिए ।

 

शाह परिवारको बाख्रा फर्ममा आगलागी भएको डेढ महिना भए । प्रहरी र प्रशासन पीडित परिवारले शंकास्पद व्यक्तिको किटानी जाहेरी दिन सुझाव दिदै आएको छ । तर, अनुमानको भरमा शाह परिवारले किटानी जाहेरी नदिने पक्षमा छ ।

 

स्थानीयले परिवारभित्रै र प्राविधिक समस्याका कारण आगलागी भएको पनि बताउँदै आएका छन् । जे होस्, परिवारभित्र वा बाहिर सत्यतथ्य लुक्नु हुँदैन ।