close

गन्यापधुराका हरेक घरमा अब एक उद्यमी

गन्यापधुराका हरेक घरमा अब एक उद्यमी

Trulli
ADVERTISEMENT

डडेलधुरा- डडेलधुराको गन्यापधुरा गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रममार्फत हरेक घरमा एकजनालाई उद्यमी बनाउने  अभियान थालेको छ । 


गरिवी निवारणका लागि एक घर एक उद्यमीको लक्ष्य सहित गन्यपाधुरा गाउँपालिका-४ कैलापल माण्डौँमा ८ दिने तालिम सञ्चालन भइरहेको छ ।

 

‘व्यवसाय सचेतना तथा लैङ्गिक समानता’ सम्बन्धी ८ दिने तालिम गत २० माघबाट सुरू भएको छ । तालिममा गाउँपालिकाका वडा नम्बर ४ का ५० जना बेरोजगार युवाहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिए ।

 

संघीयतापछि निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल अब डेढ वर्ष मात्रै बाँकी रहेकालेसबै योजना उद्यम, व्यवसाय तर्फ केन्द्रित हुने अध्यक्ष मल्लको भनाइ छ । 

 

‘गन्यापधुराका पाँच वटै वडाका सबै बस्ती  सडक सञ्जालसँग जोडिएका छन,’ उनले भने, ‘अब कृषि, पशुपालन गरी उत्पादनसँग स्थानीयलाई जोड्ने र बजारीकरण गर्ने योजनामा हामी छौँ ।’


देशमा रोजगारीको व्यवस्था नभएको भन्दै यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारत लगायतका तेस्रो मूलुक जाने गरेका छन् । यहाँका युवाहरूलाई आफ्नै गाउँ ठाउँमा स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । 

 

बेरोजगार रहेका स्थानीयलाई बहुउद्देशीय कृषि पशुपालन फर्ममा आवद्ध भई काम गर्न वडा नम्बर ४ का वडाअध्यक्ष चेतराज भट्टले आग्रह गरे । उनले आगामी दिनमा किसानलाई आकर्षित गर्ने योजना गाउँपालिकाले ल्याउने प्रतिवद्धता जनाए ।